• १९ वैशाख २०८३, शनिबार

पूर्वाधार अभावले सुनसान बन्दै पञ्चासे भञ्ज्याङ

blog

पञ्चासे भञ्ज्याङ ।

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १९ गते ।
स्याङ्जा र कास्की जिल्लाको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासे भञ्ज्याङ पछिल्लो समय सुनसान बन्दै गएको छ । कुनै समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने यस क्षेत्रमा आवश्यक आवास तथा बसोबास संरचना भए पनि यातायात पहुँच र पूर्वाधार विकासको अभावका कारण सुनसान बन्दै गएको हो ।

पहिले करिब ५० घरधुरी रहेको यस क्षेत्रमा पर्यटक क्याम्पिङ गर्ने, होटलमा खाना खाने तथा हिमालको दृश्यावलोकन गर्ने चलन थियो । तर अहिले त्यो संख्या घटेर आठ घरधुरीमा सीमित भएको छ ।

धार्मिक विश्वासअनुसार पाँच पाण्डवले तपस्या गरेको स्थान मानिने यो स्थल समुद्री सतहबाट करिब २,४५० मिटर उचाइमा अवस्थित छ । यहाँबाट पोखरा बजार, माछापुच्छ्रे लगायत एक दर्जन हिमाल देख्न सकिन्छ । प्राकृतिक रूपमा समेत यो क्षेत्र अत्यन्तै आकर्षक मानिन्छ ।

व्यवसायी राम थापाका अनुसार शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत पूर्वाधारको अभाव नै पञ्चासे सुनसान बन्नुको मुख्य कारण हो । नजिक विद्यालय नहुनु, पर्यटकलाई बसोबास तथा खानाको खर्च महँगो पर्नु र सडक पहुँच सहज नहुनुजस्ता कारणले पर्यटक आगमन घट्दै गएको उहाँको भनाइ छ ।

सरकारले आवश्यक पूर्वाधार विकास गरे आफ्नै गाउँमै होटल तथा पर्यटन व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्न सकिने थापाले बताउनुभयो ।

आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार पहिले देश–विदेशका पर्यटक यहाँ क्याम्पिङ गर्न आउने, होटलमा बस्ने र खानपान गर्ने गर्दा गाउँको अर्थतन्त्र चलायमान थियो । तर दुई जिल्लाको सिमानामा पर्ने भएकाले बजेट विनियोजनमा समस्या हुँदा अहिले क्षेत्र नै ओझेलमा परेको उहाँले बताउनुभयो ।

स्थानीयका अनुसार बसाइँसराइ बढ्नुको मुख्य कारण पनि पूर्वाधार अभाव नै हो । पूर्वाधार नहुँदा पञ्चासे भञ्ज्याङजस्ता सम्भावनायुक्त पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् भने यसमा आश्रित व्यवसायहरू पनि प्रभावित भएका छन् ।

यस क्षेत्र नजिकै स्याङ्जाको सबैभन्दा उच्च स्थान पञ्चासे, पर्यटकीय गन्तव्य श्रवणकुमार दह, समाधि स्थल तथा पाण्डव गुफा रहेका छन् । पञ्चासे क्षेत्रमा १२ प्रकारका सुनाखरी र छत्रे उन्यूजस्ता वनस्पति पाइन्छन् ।

यस्ता पर्यटकीय क्षेत्रलाई पुनः चलायमान बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्दै आवश्यक पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।