सचिन पोख्रेल
इटहरी, वैशाख १९ गते । उदयपुर जिल्लाको सामुदायिक र निजी वन क्षेत्रबाट व्यापक रुपमा खयरको अवैध कटान, ओसारपसार र बिक्री–वितरण संगठित रूपमा भइरहेको आरोप सार्वजनिक भएको छ । यसरी खयरको अवैध तस्करीमा डिभिजन बन कार्यालयका जिम्मेवारी कर्मचारीहरुदेखि व्यापारी र ठेकेदारसम्मको सम्लग्नता रहेको आरोप छ । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रारम्भ गरेको छ ।
डिभिजन वन कार्यालय उदयपुरका डिभिजनल वन अधिकृत गजेन्द्रकुमार श्रेष्ठले जिल्लामा वन क्षेत्रबाट हुने गरेको तस्करी र अनियमितताको सन्दर्भमा आफ्नो नेतृत्वमा सुक्ष्म अनुसन्धान, छानविन र करबाही प्रक्रिया अगाडि बढाएको बताउनुभयो । यस क्रममा केही व्यक्तिलाइ नियन्त्रणमा लिएको र केहीको खोजी कार्य भइरहेको पनि बताउनुभयो ।
उदयपुरमा खयर लगायत काष्ठजन्य सामग्रीको तस्करी र भइरहेको अनियमितताको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सुक्ष्म अनुसन्धान र छानविन गरिरहेको छ । यस क्रममा सरोकारवाला कर्मचारीमाथि सोधखोज गर्ने र बयान लिने काम भइरहेको पनि बताइएको छ ।
डिभिजनल वन अधिकृत गजेन्द्रकुमार श्रेष्ठले आफुले आफ्नो तहबाट तस्करी नियन्त्रणका लागि यदासक्दो प्रयास गरिरहेको र यस क्रममा धेरै सुधारका कार्य भइरहेको बताउनुभयो । उहाँले अख्तियारले यस विषयमा गरिरहेको अनुसन्धान र छानविनको क्रममा आफ्नोतर्फबाट सहयोग रहने बताउनुभयो । पछिल्लो समय तस्करी नियन्त्रण गर्दै राजश्व वृद्धि गर्ने अभियानमा आफु निस्वार्थ लागिरहेको र सकरात्मक उपलब्धीहरु कार्यालयले हासिल गरेको उहाँको भनाइ छ ।