परिचित ठाउँमा धेरै वर्षपछि जाँदा बिरानो जस्तो लाग्दो रहेछ । बाटोदेखि माथि केही पारिपट्टि सानो छाप्रो जस्तो दृश्यले मन खिच्यो । मनमा एक प्रकारकोे कौतूहलता जाग्यो । पहिला र अहिले कति फरक परेछ ? त्यहाँ जाने कसरी ?
केही समय हिँडेपछि शीतले हिलाम्मे बनाएको रातो माटो, चिप्लो बाटो पार गर्न निकै हम्मे हम्मे प¥यो । चिप्लिएमा तल खोल्सामा कसैले देख्ने छैनन् । आफैँ निस्किएर आउन पनि सकिन्न भन्ने कुरामा दुईमत थिएन । बुद्धिमतापूर्वक त्यस बाटोलाई पार गर्नुको विकल्प थिएन । केही पर पुग्दा पहिरो खसेर बाटो साँघुरो भएकाले उक्त पहिरोग्रस्त क्षेत्र सचेतपूर्वक पार गर्नु नै थियो । यसै व्रmममा अघि देखिएको गोरेटो जस्तो बाटोबाट उकालो लागेँ । आधा घण्टापछिको उकालो निस्किएपछि अघि देखिएको छाप्रो जस्तो दृश्य देखियो । त्यो दृश्य देख्दा यस्तो लाग्थ्यो कि त्यो छाप्रो प्रयोगविहीन जीर्ण अवशेष हो ।
वरिपरि अनेक किसिमका वृक्ष, लता, गुल्म र झ्याङले घेरिएको सुन्दर जङ्गलको सौन्दर्यले त्यस जीर्ण छाप्रोलाई गिज्याइ रहे जस्तो भाव हुन्थ्यो । झट्ट हेर्दा यस्तो लाग्छ त्यो छाप्रो छाप्रो नभएर जीर्ण अवशेष मात्र हो । मानौँ त्यस अवशेषमा केही भएको महसुस हुन्थ्यो । वरिपरिको जङ्गली सौन्दर्यले त्यस जीर्ण छाप्रोलाई घरी घरी जिस्क्याइरहेको भान हुन्थ्यो । यहाँसम्म कि ! पूर्वतिरको सानो गारेटो, त्यसमाथिका रुख, बारीका कान्ला, चैत, वैशाखमा कोइलीको कु हु कु हु को आवाजमा रमाउँदै हाँगै नुग्ने गरी लटरम्म फल्ने ती काफलका रुख तथा दक्षिणतिरको अग्लो डाँडोसमेत त्यही अँध्यारो खोल्सामा डुबेर अस्तित्वविहीन हुन पुगे जस्तै देखिन्थे । उत्तरमा केही तलसम्म त्यही अँध्यारो खोल्सो र जङ्गलको सौन्दर्यले साम्राज्य जमाइरहेका थिए । त्यसको पारि सेता दाँत देखाएर हाँसिरहेको धवलागिरिको दृश्यले कसको मन नतान्ला ! यत्तिकैमा त्यस जीर्ण छाप्रोभित्रबाट एक भासिए जस्तो स्वर निस्किएर त्यो स्वर क्षणभरमै हराएको महसुस हुन्छ ।
त्यो जीर्ण छाप्रोको नजिकै गएर केहीबेर नियालेँ । कुनै प्रतिव्रिmया आएन । बरु सानो ढोका जस्तो प्वाल देखियो जसको छेउतिर झिँगाहरूले उत्सव मनाइरहेका थिए । मानौँ तिनीहरूले महान् चाड बडादसैँ मनाइरहेका थिए । ढोका आकृतिको नजिक–जनिक पुग्दै गर्दा तिनै झिँगाहरूको रमाइलो चलिरहेकै थियो । जहाँ मानिसका विकार वस्तुको गोदाम नै थियो । ठाउँ ठाउँमा ढुसी लागेका थुप्रा देख्दा दिसाका थुप्रा हुन् भनेर अड्कल काट्न गाह्रो थिएन । मानव मलमूत्रको हरकले टाढासम्म अड्डा जमाएको थियो । त्यो अँध्यारो औँसीको रात जस्तो दिन ! जहाँ दिउँसै बत्ती बाल्नु्पर्ने अँध्यारो थियो तर दुर्भाग्यको कुरा रातमा बाल्ने बत्तीसमेत थिएन । त्यो छाप्रोको नजिकै पुग्दा मलाई यस्तो लागेको थियो– कुनै विकट जङ्गलको यात्राको व्रmममा सार्वजनिक शौचालयमा पुगिरहेकी छु । त्यसभित्र कोही अड्किरहेको छ उद्धारको पर्खाइमा ! भित्रको कालो दृश्यबाट जुनकिरी जस्तो सानो उज्यालो टल्किएको अनुभूत हुन्छ । एक हात र एक खुट्टाको सहाराले सकिनसकी कोही बुढो कमजोर शरीर लतार्दै त्यो अँध्यारो दृश्यबाट बाहिर निस्किन खोजिरहेको छ । त्यस दृश्यले म झस्किन्छु । बर्सांैदेखि पानी नपाएको अनुहार, यसो हेर्दा रुखको बोव्रmा जस्तै लाग्ने कलेटी परेको धोती, चोलाको अवशेष बोकेको वस्त्रले थोरै छाती लुकाएको छ । मानाँै मैले कुनै फिल्म हेरिरहेकी छु । आवाजविहीन हुन्छु, दृश्य नजिकै आयो । के योे साँच्चै मान्छेकै आकृति हो ? मनमा अनेक प्रश्नले तछाड र मछाड गर्छन् । आफूलाई समाल्ने कोसिस गर्छु । अनि मनमा च्याउ जस्तै उम्रिएका प्रश्न त्यतैतिर थुप्रो लगाउन थाल्छु–
आमा ! किन यस्तो ठाउँमा बस्नु भएको ? के खानु हुन्छ ? कसरी बाँच्नुभएको छ ? एकै पटक मनमा धेरै प्रश्न जन्मिए मैले प्रश्न गर्दागर्दै आकाशमा कालो बादल देखियो । एक्कासि मेघ गर्जियो र मुसलधारे पानी बर्सियो आमाको अनुहारमा । आमाका आँखाबाट बगेका आँसुले मलाई नै बगाउला जस्तो लाग्यो । केहीबेरको झरिपछि आकाश उज्यालो देखियो । यता आमाका आँखा पनि बिस्तारै ओभाउन थाले । नरुनुस् अब एक्लै हुनुहुन्न भन्दै काखमा लिएँ । आमाको हिक्क, हिक्कले आफैँलाई समाल्न गाह्रो भए पनि समालिनुको विकल्प थिएन । मेरा आँखामा पनि बिस्तारै ओभानोपन आउन थाल्यो । म पुनः आवाजविहीन, शब्दविहीन हुन पुगेँ । यस्तो अवस्था देखिसकेछि आमालाई भुलाएँ र यो अवस्थामा आउनुको कारण खोज्नतर्फ थालेँ । यतिबेला आमालाई कोही भएको महसुस भएको छ । आमालाई एक्लै छोडेर नजाने सर्तमा, अब नरुने सर्तमा आमाको यो अवस्था हुनुको कारण बताउन अनुरोध गरेँ । म छोटकरीमा भन्छु नानी ! धेरै बोल्न सक्दिनँ ।
हाम्रो अन्तरजातीय विवाह भयो । धेरै वर्षसम्म सन्तान भएनन् । सन्तान ढिला जन्मिए । जेठो छोरो दुई वर्षको हुँदा शिवेका बालाई धेरै आस्वासन देखाएर माओवादीले लिएर गयो । माओवादीमा गएका शिवेका बाउ एक वर्षपछि आधा रातमा घरमा आएर बिहान उज्यालो हुन नपाउँदै घरबाट निस्किएर गए । कस्ता भएका थिए, उनको अनुहारसमेत राम्रोसँग देख्न पाइनँ मैले । यहाँ बस्न नहुने यहाँ आएको थाहा पाए ज्यानको खतरा हुने भन्दै मध्यरातमा आएर रातमै उठेर बाटो लागे । छुट्ने बेलामा केही समय काखमा राखेर कपाल सुमसुम्याउँदै भनेका थिए, दिलु ! राम्रोसँग बस्नु शिवेको ख्याल गर्नु । मेरो त टुङ्गो हुँदैन कतिबेला के हुन्छ भन्ने । म दुई ढुङ्गाबिचको तरुल जस्तै भएको छु । माओवादी र सरकारको दोहोरो मारमा पर्ने भनेकै हामी जस्ता निमुखा जनता रहेछ । उनको मधुर आवाजसँगै आँसुले पनि साथ दिएको थियो । हत्तपत्त आँसु पुछेर केही नभए जस्तो गरी बनावटी हाँसो हाँस्दै हिँडेको अहिले भर्खरै जस्तो लाग्छ । त्यही हाँसो अनि आँसु अन्तिम भयो न लास पाइएको छ न त सास ! अठार वर्ष पुग्ना साथ धन कमाउन जान्छु भनी साहुसँग ऋण गरेर खाडी मुलुक गएको शिवे छ महिना नपुग्दै रातो बाकसमा फर्किएर आयो । त्यो रातो बाकस खोलेपछि शिवेलाई सुमसुम्याएँ बोल्दै बोलेन । त्यो बाकसबाट निस्किएर बाहिर आएन । म एक्कासि ढलेछुँ केही दिनपछि होस आउँदा मेरो शरीर चलेन । बल्लतल्ल देब्रे हात चल्यो धेरै बल गरेर थोरै देब्रे खुट्टा पनि चल्यो । जिउँदो भएको आभास भयो तर यसरी बाँच्नुभन्दा त मरेकै भए सजिलो हुन्थ्यो जस्तो लाग्यो ।
शिवेका बा गएको नौँ महिना पुग्दा नपुग्दै कान्छो छोरो जन्मियो । शिवेभन्दा तीन वर्षपछि जन्मिए पनि दाजुभाइ साथी जस्तै थिए । उनीहरू दुई जना भएपछि अरू सबै बिर्सिन्थे । दाजु विदेश गएपछि एक्लो भएको कान्छो दाजु बाकसमा फर्किएपछि एकोहोरो भयो । पढ्न भनेर सहरमा गएको छोरो यता न उताको भयो । मेरो रेखदेखमै त्यसको सम्पूर्ण समय व्यतीत हुन थाल्यो । भएको जायजेथा पनि मेरो उपचार र शिवेलाई विदेश पठाउँदा लिएको साहुको ऋण तिर्न नसकेपछि साहुले लिए । त्यसपछि हाम्रो टेक्ने हाँगो न समाउने डाली केही बाँकी रहेन । कान्छो पागल जस्तो भयो । आयस्रोतको बाटो केही नभएपछि धन कमाउन भनी मलाई छोडेर सहर गएको छोरो २०८२ भदौ २३ गतेको आन्दोलनमा गोली लागेर घाइते अवस्थामा अस्पतालमा छ भनेको सुनेकी छु । यति भन्दाभन्दै आमाको गला अवरुद्ध भयो र स्वर भासिँदै गयो । म अवाक भएँ ! ओठ थरथराउन थालँे । आँखा रोकिन मानेनन् ।