टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख १९ गते । पाँचौँ गुल्मी महोत्सवमा जिल्लाको पहिचान झल्काउने धार्मिक तथा पर्यटकीय क्षेत्रका २० उत्कृष्ट फोटो प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा राखिएका फोटोहरू दर्शकले रुचिका साथ अवलोकन गर्नुका साथै खिचेर समेत हेर्ने गरेका छन् ।
गुल्मीदरबार गाउँपालिका–७ ठुलापोखराका ३५ वर्षीय दिनेश बस्नेतले खिचेका २० उत्कृष्ट फोटोहरू महोत्सवमा प्रदर्शनी गरिएको हो ।
फोटोग्राफर बस्नेतका अनुसार रेसुङ्गा, चारपाला दरबार, गर्जुरा र गौडाकोटबाट देखिने धौलागिरिसहितका हिमशृङ्खला, धागिधुम मन्दिर, रेसुङ्गा क्षेत्रमा पाइने चराचुरुङ्गी तथा रैदी फाँटलगायतका स्थानका फोटोहरू प्रदर्शनीमा राखिएका छन् । उहाँले दैनिक धेरैले फोटो अवलोकन गर्ने गरेको बताउनुभयो ।
यसअघि पनि बुटवलमा भएको प्रदर्शनी, पत्रकार महासंघ रुपन्देहीको संयोजनमा चारपाला दरबार, अर्घाखाँचीको बलकोट पौवा र उपल्लो तम्घासबाट उत्तरतर्फ देखिने हिमालका फोटोहरू प्रदर्शनी गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको पर्यटकीय विकास र पहिचान प्रवद्र्धनका लागि महोत्सवमा करिब ४० हजार रुपैयाँ व्यक्तिगत लगानीमा फोटो प्रदर्शनी गरिएको बस्नेतले बताउनुभयो । उहाँले तीन वर्षदेखि ‘काजी फोटो’ मार्फत आफ्नो फोटोग्राफी पहिचान बनाउँदै आउनुभएको छ । अहिलेसम्म जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलका एक हजारभन्दा बढी फोटो खिचेर सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।
सुरुमा मोबाइलबाट फोटो खिच्ने गरेका बस्नेतलाई विदेशबाट छिमेकीले पठाएको क्यामेराले थप प्रेरणा दिएको थियो । त्यसपछि फोटोग्राफर राज अधिकारी, सुप्रदिप्त न्यौपाने, सन्दिप शर्मा र जीवन पञ्जियार थारुको सहयोग र हौसलाले आजको अवस्थासम्म पुगेको उहाँको भनाइ छ । औपचारिक तालिम वा अध्ययन नगरे पनि अग्रजहरूको प्रेरणा र सिकाइ नै आफ्नो उपलब्धि भएको उहाँले बताउनुभयो ।
बस्नेतले गत वर्ष एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजित प्रधानमन्त्री कपको आधिकारिक फोटोग्राफरका रूपमा काम गर्ने अवसर पनि पाउनुभएको थियो ।
गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा वैशाख ११ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा कृषि, घरेलु तथा हस्तकलासहित २०० भन्दा बढी स्टल रहेका छन् । फोटोमार्फत जिल्लाको प्रचार–प्रसारका लागि ‘काजी फोटो’ लाई निःशुल्क स्टल उपलब्ध गराइएको गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा प्रसाद भुसालले बताउनुभयो ।