• १९ वैशाख २०८३, शनिबार

अस्तित्व

blog

समुद्रमा प्रवेश गर्नै लागेको नदी

थरथरी कामिरहेको छ आज  

लल्याकलुलुक गलेको छ, अनि

आभाष गरिरहेछ– 

निवेशभरमा लोप हुन लागेको

उसको अस्तित्व ।


तैपनि विलीन हुनुपूर्व एक पटक

फर्केर हेर्न र सम्झन खोज्छ 

सङ्घर्षले भरिएका कहालीलाग्दो अतीत

हजारौँ गोरेटो, घुम्ती र बाटोहरू, 

उकाली ओराली, वनजङ्गल र बस्तीहरू

अन्ततः विक्षिप्त बन्दै 

सम्झन्छ, आफ्नो उद्गमलाई

अफसोस ! कसरी फर्कन सक्छु म

अनि कसरी अँगाल्न सक्छु म विगतलाई

जे भयो राम्रै भयो, जे हुन्छ राम्रै होला

बन्द गर्नै पर्छ फगत कल्पनाका ढोकाहरू

सामना गर्नै पर्दो रहेछ साहसले

अस्तित्वका सम्भावित परिस्थितिहरू 

जसरी अँगाल्दै हरेक चुनौती पथका

लडाइँ लड्दै वेगले

गर्दछन् आत्मसमर्पण नदीहरू  

अनि त ! बदलिन्छन् उसका पहिचान

नाला खोला नदी समुद्र हुँदै

बन्दछन् सागर विशाल ।