• ७ वैशाख २०८३, सोमबार

अटिजम भएकाको उपचारमा समस्या

blog

बुलबुले समाचारदाता

सुर्खेत, वैशाख ७ गते । वीरेन्द्रनगर नगरपालिका–३ निवासी बादल थापाका छ वर्षीय छोरालाई अटिजम भएको छ । चार वर्षको हुँदा मात्र छोरामा अटिजम रहेको उहाँको परिवारले थाहा पायो । मन्टेसरीमा शिक्षिकाले यो कुरा अभिभावकसामु बताएपछि बिस्तारै परिवारका सदस्यले पनि रोग पहिचान गर्नुभयो । त्यसपछि उपचारका लागि नेपालगन्जदेखि चितवनसम्म पु¥याइयो । तर सहज रूपमा उपचार पाउन नसकेको थापाको गुनासो छ । 

थापा भन्नुहुन्छ, “कर्णालीमा यसको उपचार र पठनपाठन हुने उपयुक्त ठाउँ नहुँदा निकै समस्या झेल्नु परेको छ ।” नौ वर्षअघि वीरेन्द्रनगर–४ की तिर्सना थापाले छोरा जन्माउनुभयो । उमेर अनुसार छोरा संयमको बोलीमा विकास भएन । संयम १३ महिना भएपछि मात्रै हिँड्न थाले । शारीरिक बनोट ठिकै भएका संयम बुझ्छन् तर राम्ररी जवाफ फर्काउन सक्दैनन् । मन्टेसरीमा दुई वर्ष पढाएपछि थाहा भयो संयममा डाउन सिन्ड्रोमको समस्या छ । समयमा नै उपचार नपाउँदा उनी अन्य बालबालिकाभन्दा भिन्न छन् । उनले रोग अनुसारको उपचार पाएका छैनन् भने पठनपाठनबाट समेत वञ्चित भइरहेको अभिभावकको दुःखेसो छ । 

यस्तै कल्पना सापकोटाका छोरा चार वर्षका भए । ठुलो आवाज आउनेबित्तिकै तर्सिने गर्छन् । कल्पनाका अनुसार खाना पकाउँदा कुकरको सिटी बज्दा, गाडीको आवाज सुन्दा, मोबाइलको रिङटोन बज्दासमेत तर्सिने गर्छन् । उपचार गर्ने विधि तथा अस्पताल नहुँदा छोराको समस्या थप बिग्रँदै गएको कल्पनाको गुनासो छ । उल्लेख गरिएका पात्र प्रतिनिधि मात्र हुन् । रोग पहिचान गर्न नसक्दा बालबालिकाको भविष्य नै अन्धकार बनिरहेको छ । कर्णालीमा यसको सहज उपचार नहुनु तथा अभिभावकमा जानकारीसमेत नहुँदा बालबालिका उपचार तथा पढाइबाट वञ्चित भएको अभिभावकको गुनासो छ । 

अटिजमको समस्या बढ्दो क्रममा रहेको स्पिच थेरापिस्ट नीलम लामाले बताउनुभयो । उहाँले नेपालमा विगत केही वर्षयता अटिजमको समस्या बढेको पाइए पनि धेरै अभिभावकमा अझै पनि यससम्बन्धी उचित जानकारी नहुँदा समस्या बढ्दै गएको बताउनुभयो । अटिजम भएका बच्चामा सञ्चार र सामाजिक अन्तर्क्रियाको समस्या देखिएकाले यस्ता बालबालिकालाई विशेष स्याहार, शारीरिक थेरापी, स्पिच थेरापी र अक्युपेसनल थेरापीमा जोड दिनुपर्ने उहाँले जानकारी दिनुभयो । 

समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ रहेको भन्दै लामाले यसलाई समयमै पहिचान गरी सचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अटिजम स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने बाल विशेषज्ञ फिजियोथेरापिस्ट समिदकुमार कतिला श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जन्मजात हुने नसा र तन्तुको विकासको क्रममा आएको असमानताको रूप हो । अटिजम भएका व्यक्तिलाई सामाजिक रूपमा घुलमिल हुन, सञ्चारको विचलन, कल्पना शक्तिमा कम हुने र व्यवहार गर्नमा कठिनाइ, खेल खेल्न नजान्ने जस्ता समस्या देखा पर्ने गरेको उहाँको भनाइ छ । अनुभव र तालिमप्राप्त डाक्टरले मात्र अटिजमको सही पहिचान गर्न सक्ने भएकाले धेरै बालबालिकाको पाँचदेखि छ वर्ष उमेरमा गएर मात्रै पहिचान हुने गरेको जनाइएको छ ।