• ७ वैशाख २०८३, सोमबार

आज बुटवलमा जितगढी उत्सव मनाइँदै

blog

बुटवलको तिनाउ नदी पुल नजिकै अवस्थित ऐतिहासिक जितगढी किल्ला । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख ७ गते ।
बुटवलको जितगढीमा नेपाल–अंग्रेज युद्धमा नेपालले विजय हासिल गरेको दिनको सम्झनामा आज (सोमबार) जितगढी उत्सव मनाइँदैछ ।

वि.सं. १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरेको सम्झनामा हरेक वर्ष यो दिन विजय उत्सव मनाउने गरिन्छ । सोही परम्पराअनुसार आज पनि उत्सव आयोजना गरिएको हो । बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष विभिन्न कार्यक्रममार्फत यो विजय दिवस मनाउँदै आएको छ ।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जितगढी पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने बताउनुभएको छ । उहाँले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यस वर्ष पनि उपमहानगरपालिकाले विशेष कार्यक्रमसहित जितगढी उत्सव मनाउँदैछ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको समेत उपस्थिति रहने प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

उपप्रमुख साबित्रादेवी अर्यालका अनुसार आज जितगढी उत्सवअन्तर्गत मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएका नेपाली सेनाको टोलीलाई स्वागत तथा पैदलयात्रा समापन कार्यक्रम पनि रहेको छ ।

गणेश मन्दिर नजिकबाट बाजागाजासहित सुरु हुने विजय र्‍याली पैदलयात्रीसहित जितगढी किल्लामा पुगेर समापन हुनेछ । त्यसपछि विभिन्न कार्यक्रमहरू आयोजना गरिने प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुटवल उपमहानगरपालिकाले आज अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरी जितगढी किल्लामा मूल समारोह आयोजना गर्दै आएको छ । कार्यक्रम लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको आतिथ्यमा सम्पन्न हुनेछ ।