अमरराज नहर्की
तनहुँ, वैशाख ७ गते । प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको बृहत्तर विकासका लागि तयार पारिएको गुरुयोजना बजेट अभावमा विगत १६ वर्षदेखि अलपत्र परेको छ ।
देवघाट क्षेत्रको प्राकृतिक स्वरूप, धार्मिक तथा सांस्कृतिक क्रियाकलाप र ऐतिहासिक पृष्ठभूमिको दीगो विकासका लागि २०६४ सालमा तयार पारिएको गुरुयोजना कार्यान्वयन हुन नसकेको हो ।
नेपाल सरकारले २०६६ साल असोज १ गते स्वीकृत गरेको उक्त गुरुयोजनाको विस्तृत विवरण अनुसार १ अर्ब २२ करोड ४५ लाख १५ हजार रुपियाँ अनुमानित लागत रहेको थियो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार १६ वर्ष बितिसक्दा पनि बजेटकै अभावमा गुरुयोजनाले लक्षित गरेका ठुला पूर्वाधारका कामहरू अघि बढ्न सकेका छैनन् ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. इश्वरीराज लौडारीले देवघाट क्षेत्र विशाल भएकाले सबै योजना एकैसाथ सम्पन्न गर्न आर्थिक र प्राविधिक दृष्टिले कठिन रहेको उल्लेख गर्नुभयो ।
“प्राथमिकताका आधारमा चरणबद्ध रूपमा काम गर्नुपर्ने देखिएको छ,” उहाँले भन्नुभयो, “यो गुरुयोजना पूर्ण रूपमा कार्यान्वयन हुन सके देवघाटको मुहार फेरिने निश्चित छ ।”
समितिले आगामी आर्थिक वर्षका लागि तनहुँतर्फ शालिग्राम सङ्ग्रहालय र देवघाटको वेणी सङ्गममा त्रिकोणात्मक धार्मिक पुल निर्माणका लागि विशेष पहल सुरु गरेको छ । समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले सरकारले गुरुयोजना स्वीकृत गरे पनि आवश्यक बजेट विनियोजन नगर्दा योजना कागजमै सीमित भएको बताउनुभयो । उहाँका अनुसार दशकौँअघि तयार पारिएको गुरुयोजनाले वर्तमान समयको माग र आवश्यकतालाई समेत सम्बोधन गर्नुपर्ने चुनौती थपिएको छ ।
गुरुयोजनाले देवघाट क्षेत्रलाई भित्री धार्मिक क्षेत्र, सहायक धार्मिक क्षेत्र र बाहिरी क्षेत्र गरी तीन भागमा वर्गीकरण गरेको छ । भौतिक पूर्वाधारतर्फ सडक, पुल, स्नानघाट र व्यवस्थित दाहसंस्कार स्थल निर्माणका योजनाहरू समेटिएका छन् । तनहुँ, चितवन र नवलपुर जिल्लाको करिब ५ हजार ४३४ हेक्टर क्षेत्रफलमा फैलिएको देवघाटधामको विकासका लागि सरकार, दातृ निकाय र स्थानीय तहको एकीकृत सहयोग अनिवार्य देखिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयाे ।