• ७ वैशाख २०८३, सोमबार

माझीदमार स्वास्थ्य एकाइमा प्रसूति सेवा सुरु

blog

प्रसूति सेवासहितको माझीदमार सामुदायिक स्वास्थ्य एकाइ । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, वैशाख ७ गते ।
अर्घाखाँचीको सितगङ्गा नगरपालिकासँग सीमा जोडिएको प्युठानको माझिदमारमा प्रसूति सेवा सञ्चालनमा ल्याइएको छ । ऐरावती गाउँपालिका–१ स्थित माझीदमार सामुदायिक स्वास्थ्य एकाइमा प्रसूति सेवा विस्तार गरिएको हो ।

अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०७५ सालमा स्थापना गरिएको उक्त स्वास्थ्य एकाइले ऐरावती गाउँपालिकाका दुई वडा तथा सितगङ्गा नगरपालिकाका केही बस्तीका नागरिकलाई सेवा प्रदान गर्दै आएको छ । ऐरावती गाउँपालिका–१ का वडा सदस्य एवं स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले सदरमुकामदेखि करिब ४५ किलोमिटर टाढा रहेको यस क्षेत्रका नागरिकलाई सहज रूपमा प्रसूति सेवा उपलब्ध भएको बताउनुभयो ।

सामुदायिक स्वास्थ्य एकाइमा हाल चार जना स्वास्थ्यकर्मी कार्यरत छन् । शुक्रबार २४ घण्टा प्रसूति सेवा प्रमाणीकरण गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पालिकाभित्र चार वटा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार माझीदमार स्वास्थ्य एकाइमा प्रसूति सेवा समेत विस्तार गरिएको हो ।

पालिकाभित्रका ६ वटा वडामा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइ गरी १० वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् ।