नवीनराज कुइँकेल
लमजुङ, वैशाख ७ गते । लमजुङका चारवटा पालिकाका विद्यालयले वैशाख १० गतेदेखि पठनपाठन सञ्चालन गर्ने भएका छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले २०८३ को शैक्षिकसत्र वैशाख १५ बाट सुरु गर्न निर्देशन दिए पनि लमजुङका स्थानीय तहहरूले वैशाख १० बाट पठनपाठन सञ्चालन गर्न लागेका हुन् ।
संविधान अनुसार आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापन स्थानीय तहको अधिकारभित्र पर्ने भन्दै केन्द्रीय निर्देशन अगाबै पठनपाठन थाल्ने स्थानीय तहहरूले जनाएका छन् । लमजुङका स्थानीय तहहरूले शैक्षिकसत्र २०८३ का लागि भर्ना अभियान तथा नियमित पठनपाठन सञ्चालनको समयतालिका बनाएर विद्यालयमा निर्देशन गरेका छन् ।
बेँसीसहर नगरपालिकाले सूचना जारी गर्दै वैशाख ७ देखि ९ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ । प्रधानाध्यापकहरूको राय सुझावका आधारमा बेँसीसहर नगर शिक्षा समितिले निर्णय गरेर शैक्षिकसत्र २०८३ को नियमित पठनपाठन वैशाख १० देखि सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।
सुन्दरबजार नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ शैक्षिकसत्र २०८३ को पठनपाठन वैशाख १० देखि सञ्चालन गर्न जनाएको छ । वैशाख ३ देखि ६ सम्म विद्यालयहरूले वार्षिक कार्यतालिका निर्माण, विद्यालय सुधार योजना तयारी, शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम निर्धारण तथा सरोकारवालासँग समन्वय बैठक बस्ने जनाएको छ ।
नगर प्रमुख कृष्णप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा वैशाख ७ देखि औपचारिक रूपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र वैशाख १० देखि नियमित पठनपाठन सुरु गरिने जनाइएको छ ।
मध्यनेपाल नगरपालिकाले पनि वैशाख १० देखि पालिकाभित्रका सबै विद्यालयमा नियमित रूपमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले नयाँ शैक्षिकसत्र २०८३ लाई व्यवस्थित रूपमा सञ्चालन गर्ने भन्दै वैशाख ७ बाट भर्ना अभियान सुरु गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख रमेशकुमार पाण्डेका अनुसार न्यून विद्यार्थी भई बन्द हुने अवस्थामा पुगेका विद्यालयले वैशाख २५ भित्र नजिकको विद्यालयमा मर्ज हुने निर्णयसहित आवश्यक कागजात नगरपालिकामा पेस गर्नुपर्ने निर्णय गरेको छ ।
मर्स्याङ्दी गाउँपालिकामा भने वैशाख १४ देखि पठनपाठन सुरु हुने भएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार वैशाख ७ देखि विद्यार्थी भर्ना कार्यक्रम तथा घरदैलो अभियानसँगै पाठ्यपुस्तक वितरण सुरु गरिने छ । अभिभावकसँग समन्वय सहज बनाउन बिहान र बेलुका घरदैलो अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको संयुक्त बैठकबाट विद्यार्थी सिकाइ सुधारसम्बन्धी योजना वैशाख ८ र ९ मा निर्माण गरिने उहाँले बताउनुभयो । वार्षिक कार्यतालिका तथा शैक्षिक योजना निर्माण गरी शिक्षकहरूले पाठयोजना तयार गर्ने काम वैशाख १० र ११ सम्म सक्ने प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनुभयो ।
लमजुङमा ८ वटा स्थानीय तह रहेकोमा चार पालिकाले औपचारिक रूपमा भर्ना अभियान र नियमित पठनपाठन बारेको सूचना सार्वजनिक गरेको छैनन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) लमजुङका अध्यक्ष इश्वर पौडेलले स्थानीय तहको निर्णय अनुसार भर्ना र नियमित पठनपाठन सुरु गरिने बताउनुभयो ।
धेरैजसो स्थानीय तहमा वैशाख ७ बाट भर्ना अभियान सुरु गर्ने र १० देखि नियमित पठनपाठन सुरु गर्ने भनिएकोले निजी विद्यालय पनि यही अनुसार सञ्चालन हुने उहाँले बताउनुभयो ।