पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख ७ गते । पश्चिम नवलपरासीको महेशपुर-परासी सडकखण्डको निर्माणाधीन कार्यमा भएको चरम लापरबाही र ढिलासुस्तीको विरोध गर्दै स्थानीय बासिन्दाहरूले सोमबार सडक अवरुद्ध गरेका छन् ।
मात्र १.५ किलोमिटर लामो सडक खण्ड निर्माणका लागि हालसम्म ३ पटक म्याद थप भइसक्दा पनि काम अझै अधुरै छ। सडक निर्माणको क्रममा उड्ने धुलो र धुवाँका कारण जनजीवन कष्टकर बनेपछि स्थानीयहरूले करिब दुई घण्टा सडकमा यातायात ठप्प पारेका हुन् ।
प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दाहरूले निर्माण कार्यलाई तत्काल गति नदिएमा आगामी दिनमा थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । पटकपटकको म्याद थप र निर्माण कम्पनीको सुस्त कार्यशैलीप्रति आक्रोश पोख्दै उनीहरूले तत्काल सडक निर्माण सम्पन्न गर्न सरोकारवाला निकायसँग जोडदार माग गरेका छन् ।
निर्माण कार्यमा भएको अनपेक्षित ढिलाइले गर्दा सडक छेउका बासिन्दाहरू दिनहुँ धुलो र धुवाँको मार खेप्न बाध्य छन्, जसले गर्दा स्वास्थ्य समस्याहरू समेत बढ्दै गएका छन् । सडकको यो दुर्दशाले गर्दा सवारी चालक, यात्रु र स्थानीय बासिन्दाहरूले दैनिक सास्ती भोग्दै आएका छन्। अब सम्बन्धित निकायले यस विषयमा गम्भीरतापूर्वक पहल लिन आवश्यक देखिएको छ ।