रामकृष्ण बोहरा
बागलुङ, वैशाख ७ गते । पश्चिम बागलुङको बडिगाड–२, खर्वाङस्थित त्रिभुवन माध्यमिक विद्यालयले सीप विकास तथा स्वरोजगारमुखी प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
विद्यालयले औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा सीप विकास र स्वरोजगारमुखी प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको हो । चालु शैक्षिक सत्रदेखि ३ महिना वा सोभन्दा बढी अवधिका तालिम सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ ।
“मावि तहका विद्यार्थीलाई अनौपचारिक प्राविधिक शिक्षामा जोड्दा स्वरोजगार बन्न सक्छन्,” विद्यालयका प्रधानाध्यापक ढालमणी भण्डारीले भन्नुभयो । ‘एक निर्वाचन क्षेत्र एक प्राविधिक विद्यालय’ कार्यक्रमअन्तर्गत त्रिभुवन मावि सूचीकृत रहेको उहाँले जानकारी दिनुभयो ।
“बहुप्राविधिक विद्यालयका लागि सरकारले बजेट व्यवस्थापन नगरेकाले तत्काल औपचारिक कक्षा सञ्चालन गर्न नसके पनि छोटो अवधिका तालिम सञ्चालन गर्ने योजना बनेको छ,” प्रधानाध्यापक भण्डारीले भन्नुभयो । अटोमोबाइल्स, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स जस्ता सीपमूलक तालिम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त नभएकाले विद्यार्थीलाई स्वरोजगारमुखी तालिममा जोड्न लागिएको विद्यालयले जनाएको छ । दीर्घकालीन योजनाका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरी थप प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी रहेको व्यवस्थापन पक्षले जनाएको छ । सिभिल इन्जिनियरिङलगायत आवश्यक विषयमा औपचारिक शिक्षा सुरु गर्ने विद्यालयको योजना छ ।
बहुप्राविधिक शिक्षाका लागि विद्यालयले गत मंसिरमा सञ्चालन गरेको महायज्ञबाट करिब ३ करोड रुपियाँ संकलन गरेको छ । उक्त रकमबाट तत्काल छोटो अवधिका तालिम सुरु गर्ने र सरकारी स्रोतसँग जोडिएपछि दीर्घकालीन अध्यापन सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुषालले बताउनुभयो ।
“सीटीईभीटी तथा अन्य निकायसँग सहकार्य गरी विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको केन्द्र बनाउने तयारी छ,” अध्यक्ष भुषालले भन्नुभयो ।
यसअघि नौ वर्षअघि भएको हीरक महोत्सवबाट संकलित ८० लाख रुपियाँले विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै अक्षयकोषमार्फत निजी स्रोतका शिक्षक राखी अंग्रेजी माध्यम, कम्प्युटर ल्याब र बाली विज्ञान विषय पढाइ सुरु गरिएको थियो ।
महायज्ञबाट संकलित रकमलाई बढाएर पाँच करोड रुपियाँको अक्षयकोषमार्फत बहुप्राविधिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष भुषालले बताउनुभयो ।
त्रिभुवन माविलाई बडिगाड गाउँपालिका मात्र नभई गलकोट तथा छिमेकी जिल्ला गुल्मीको मुसिकोट क्षेत्रसम्म आकर्षक शैक्षिक गन्तव्य बनाउने लक्ष्य राखिएको छ । साथै ढोरपाटन, निसी र तमानखोला क्षेत्रका विद्यार्थीका लागि पनि विद्यालय उपयोगी बन्दै गएको छ । यहाँका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीसमेत यही विद्यालयमा अध्ययन गर्न थालेका छन् ।