• ८ वैशाख २०८३, मङ्गलबार

खोरमा आगलागी हुँदा वृद्धको मृत्यु, डढेलोले दुई घरमा क्षति

blog

बागचौर -४ मा बाख्रा खोरमा आगलागी हुँदा जलेको खोर र खरानी ।

शंकर केसी

सल्यान, वैशाख ८ गते । सल्यानमा विद्युत् तार सर्ट भई बाख्रा खोरमा भएको आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ । 

जिल्लाको बागचौर नगरपालिका –४ नमुना बस्तीमा मंगलबार दिउँसो करिब ४ः५० बजेतिर स्थानीय भद्रबहादुर घर्तीको बाख्राको खोरमा आगलागी हुँदा सोही ठाउँमा सुतिरहेका करिब ७० वर्षीय मोतिराम वलीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले विद्युत् तार सर्ट भई आगलागी भएको प्रारम्भिक निष्कर्ष रहेको बताउनुभयो । आगलागीमा खोरभित्र रहेका ३५ वटा लोकल कुखुरा समेत जलेर नष्ट भएका छन् । 

बुद्धको शरीर जलेको अवस्थामा शव भेटिएको वडा नं ४ का वडा अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । आगलागीमा ज्यान गुमाएका भनिएका मोतिराम वडा नं, ४ स्थित रातिघारी निवासी हुनुहुन्थ्यो । करिब एक हजार मिटर पर छिमेकी टोलमा विवाह कार्यक्रममा जानुभएका उहाँ बिवाह घरबाट नजिकै स्थानीय नमुना बस्ती भद्रबहादुर घर्तिको टहरामा सुतेको भन्ने बुझिएको वडा अध्यक्ष बस्नेतले बताउनुभयो । 

तल काठपात बिछ्याइएको र माथि जस्तापाताको छाना रहेको खोरमा आगलागी भएको हो । प्रहरी र स्थानीयको संयुक्त प्रयासमा बेलुकी करिब ५ः३० बजेतिर आगो नियन्त्रणमा लिइएको थियो । घटनाबारे थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय थारमारे बाट प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा एसओसीओसहित पाँच जनाको टोली परिचालन गरिएको छ । 

बढ्दै वन डढेलो घटना

यसैबिच, सुख्खायाम सुरु भएसँगै जिल्लामा आगलागी तथा वन डढेलोका घटनाहरू बढ्दै गएको छ । सोमबार मात्रै बनगाड कुपिण्डे नगरपालिका –१० मा आगलागी हुँदा तीनवटा घर र एक गोठ जलेर नष्ट भएको थियो । मंगलबार शारदा नगरपालिका –४ स्थित साल टाकुरी सामुदायिक वनमा लागेको डढेलोले बस्ती जोखिममा पार्दा दुई घरमा आंशिक क्षति भएको छ । समयमै नियन्त्रणमा ल्याइएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।

दिउँसो करिब १२ बजे जंगलमा आगलागी भइरहेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी सहायक निरीक्षक सुजन खड्काको कमाण्डमा ११ जनाको टोली खटिएको थियो । 

त्यसैगरी नेपाली सेनाका सहसेनानी रमेश थापाको नेतृत्वमा २५ जना र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब निरीक्षक शिव सेजुवालको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको थियो । 

डढेलो फैलिँदै बस्तीनजिक पुगेपछि थप बल परिचालन गरिएको थियो । दिउँसो १२ः४५ बजे प्रहरी बरिष्ठ हवल्दार युगराज बस्नेतको कमाण्डमा थप ८ जनाको टोली घटनास्थल पठाइएको थियो ।


डढेलोकै क्रममा शारदा नगरपालिका –४ निवासी ५२ वर्षीया गायात्रा विष्टको भान्सा कोठामा आगलागी भई आंशिक क्षति भएको छ । सोही घरभित्र रहेका उहाँका २८ वर्षीय छोरा गिरीराजलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको थियो । उहाँ शारीरिक तथा मानसिक रूपमा अशक्त हुनुहुन्छ । 

यस्तै स्थानीय खिमबहादुर डाँगीको घरमा पनि सामान्य क्षति पुगेको छ । दुवै घरमा लागेको आगो समयमै नियन्त्रणमा लिइएको थियो । सुरक्षाकर्मी, स्थानीयवासी तथा सरोकारवाला निकायहरूको संयुक्त प्रयासपछि साँझ ५ः१५ बजेतिर डढेलो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । 

सुख्खा यामसँगै जिल्लामा डढेलोका घटना बढ्दै गएकाले जोखिम उच्च बन्दै गएको छ । सुरक्षाकर्मीहरूले जंगल क्षेत्रमा आगो नबाल्न, सतर्कता अपनाउन तथा आगलागी देखिएमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।