• ९ वैशाख २०८३, बुधबार

सोलुखुम्बुमा पहिलो पटक जिप लाइन सञ्चालन

blog

गौरीटापमा सञ्चालनमा आएको जिपलाइन । तस्बिरः गार्डेन राई

गार्डेन राई

वैशाख ९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलो पटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा करिब तीन हजार मिटर उचाइमा अवस्थित पर्यटकीयस्थल पत्तालेको सिमाना गौरीटापमा जिपलाइन निर्माण गरी सञ्चालन गरेको हो।

आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला भित्र्याई नागरिकको आयआर्जनमा वृद्धि गर्न, छिमेकी जिल्ला र छिमेकी स्थानीय तहमा समेत पर्यटन प्रवर्धनमा सघाउ पुर्‍याई ग्रामीण पर्यटनमा टेवा गर्ने उद्देश्यसाथ पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिएको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो।  

नेचासल्यान गाउँपालिकाको ८० लाख रुपियाँ लागतमा साहसिक खेल जिप लाइन, साइक्लिङ, स्वीमिङ, क्लाम्बिङ र भ्यू पोइन्ट गरी पाँच प्रकारका मनोरञ्जन स्थल निर्माण गरिएको गाउँपालिका अध्यक्ष राईको भनाइ छ। 

उहाँका अनुसार प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हुनुका साथै करिब १२ प्रकारका लालीगुराँस फूल्ने स्थान गौरीटापमा सुरु गरिएको जिपलाइनले आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान खिच्ने छ। योजना निर्माणका लागि कालिका निर्माण सेवासँग गाउँपालिकाले २०८२ साउन ११ गते सम्झौता गरेको नेचासल्यान गाउँपालिका पूर्वाधार विकास शाखाका इन्जिनियर सुजन शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार २०८२ चैतमा योजना सम्पन्न गर्ने लक्ष्य अनुसार योजना सम्पन्न गरी नयाँ वर्षको अवसर बनाएर २०८३ वैशाख १ गते गाउँपालिकालाई हस्तान्तरण  गरी ५५० मिटर लम्बाई रहेको जिपलाइनको उदघाटन गरिएको हो।

नेचासल्यान गाउँपालिका वडा १ गौरीटाप र सोलुदुधकुण्ड नगरपालिका-८, पत्तालेको सीमानामा पर्ने गौरीटापमा निर्माण गरी वैशाख १ गतेदेखि सञ्चालनमा आएको जिपलाइनलाई नियमित रूपमा सञ्चालन गर्न ठेक्का आह्वान गरी आधिकारीक संस्थालाई जिम्मा दिने गाउँपालिकाले जनाएको छ । नियमित सञ्चालन पश्चात कुल आम्दानीको ७० प्रतिशत स्थानीय तह र ३० प्रतिशत भेडिखोर सामुदायिक वनलाई रकम जाने गाउँपालिकाले जनाएको छ।

सोलुखुम्बुको पत्ताले र गौरीटाप क्षेत्रबाट सगरमाथा लगायत विभिन्न मनमोहक हिमशृङ्खलाहरू हेर्न वा देख्न सकिन्छ । सो क्षेत्र हाल पर्यटकीय हब बनेको छ।