अजय शाह
गौशाला (महोत्तरी), वैशाख ९ गते । महोत्तरीका भारतीय सीमावर्ती बजारमा पछिल्लो समय चहलपहल उल्लेखनीय रूपमा घटेको छ।
सरकारले भारतबाट ल्याइने सामानमा १०० रुपियाँभन्दा बढी मूल्य भए भन्सार महसुल अनिवार्य रूपमा लाग्ने व्यवस्था कडाइका साथ लागु गरेपछि सीमापारि किनमेल गर्न जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै घटेको हो।
जलेश्वर–भिट्ठामोड भन्सार नाका र सम्सीको छोटी भन्सार नाकाबाट भारततर्फ जानेहरूको सङ्ख्या पहिलेको तुलनामा निकै कम भएको स्थानीय व्यापारीहरू बताउँछन्।
गौशाला बजारका व्यापारी विनोद साहका अनुसार मटिहानी, भिट्ठामोड र सम्सी आसपासका बासिन्दा पहिले नियमित रूपमा भारतीय बजार मधवापुर, सुरसन्ड, भिट्ठामोड मा किनमेलका लागि जाने गर्थे। तर अहिले भन्सार कडाइका कारण त्यस्तो गतिविधि घटेको छ।
“पहिले सस्तो भन्दै भारत जान्थे, अहिले सय रुपियाँभन्दा बढीको सामान ल्याउँदा पनि कर तिर्नुपर्ने भएपछि झन्झट मानेर जान छोडेका छन्,” उहाँले बताउनुभयो।
सरकारले सीमा क्षेत्रमा निगरानी कडा बनाएपछि उपभोक्ताहरू स्थानीय बजारतर्फ फर्किन थालेका छन्। विशेषगरी बर्दिबास लगायतका बजारमा ग्राहकको चाप बढेको व्यवसायीहरू बताउँछन्। बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कार्कीका अनुसार पहिले सीमापारि जाने ग्राहक अहिले स्थानीय पसलमै किनमेल गर्न थालेका छन्।
यसले खाद्यान्न, लत्ताकपडा, किराना तथा इलेक्ट्रोनिक्स व्यवसायमा सकारात्मक प्रभाव पारेको छ र स्थानीय अर्थतन्त्र चलायमान बन्न सहयोग पुगेको छ।यद्यपि उपभोक्ताहरू भने पूर्ण रूपमा सन्तुष्ट छैनन्।
स्थानीय बजारमा मूल्य महँगो र विकल्प सीमित भएको गुनासो बढ्दो छ। बर्दिबास–१ की सरीता अधिकारी भन्नुहुन्छ, “पहिले भारतमा सस्तो र धेरै विकल्प पाइन्थ्यो, अहिले यहाँ महँगो पर्न थालेको छ।”
सीमापारि जान कम भएपछि केही व्यापारीले मूल्य बढाएको आरोप पनि उपभोक्ताहरूले लगाएका छन्। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेहरूको सङ्ख्यामा करिब ८० प्रतिशतले कमी आएको छ।
प्रजिअ यादवका अनुसार भन्सार कडाइसँगै भारततर्फ जाने र सामान ल्याउने गतिविधिमा उल्लेख्य गिरावट आएको हो। पहिले सामान्य घरायसी सामान भन्सार नतिरी ल्याउने प्रचलन रहे पनि अहिले सानो मूल्यको सामानमा पनि कर लाग्ने भएपछि उपभोक्ताले स्थानीय बजारलाई प्राथमिकता दिन थालेका छन्।
यद्यपि व्यक्तिगत रूपमा किनमेल गर्न जानेहरू घटे पनि सङ्गठित रूपमा सामान ल्याउने समूह भने अझै सक्रिय रहेको बताइएको छ। आर्थिक रूपमा कमजोर केही व्यक्ति भन्सार छलेर सामान ल्याउने काममा संलग्न रहेको र त्यसबाट जीविकोपार्जन गर्दै आएको स्थानीयहरू बताउँछन्।
नाकामा कडाइ बढेपछि उनीहरू पनि समस्यामा परेका छन्। प्रशासनले भने तस्करी नियन्त्रणका लागि २४सै घण्टा निगरानी कडा पारेको जनाएको छ।
सशस्त्र प्रहरीका डिआईजी कृष्ण ढकालले केन्द्रको निर्देशन अनुसार भन्सार प्रणालीलाई व्यवस्थित बनाउन कडाइ गरिएको बताउनुभयो। ढकालका अनुसार यसले वैधानिक रूपमा भन्सार तिरेर सामान ल्याउने संस्कृतिको विकासमा सहयोग पुर्याउने छ।
यसैगरी मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाले साना उपभोक्तालाई अनावश्यक दुःख नदिने नीति रहेको स्पष्ट पार्नुभयो। भन्सारसम्बन्धी निर्णय पहिलो घेराका निकायबाट हुने भएकाले नेपाल प्रहरीले अनावश्यक हस्तक्षेप नगरेको उहाँको भनाइ छ।
भन्सार कडाइले सीमापारि किनमेलको प्रवृत्ति घटाएको छ भने स्थानीय बजारलाई चलायमान बनाएको छ। तर मूल्यवृद्धि र सीमित विकल्पका कारण उपभोक्ता असन्तुष्टि भने अझै कायम रहेको देखिन्छ।