• ९ वैशाख २०८३, बुधबार

सागको मुठामा भेटियो लागु औषध

blog

फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

 दमक, वैशाख ९ गते । झापामा लागु औषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागु औषध भित्र्याउने गरेको पाइएको छ ।

लागु औषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछि प्रहरीको आँखा छल्नका लागि नयाँनयाँ उपाय अपनाउन थालेको पाइएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित मेची पुल क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी ५० वर्षीया खैरुन खातुनलाई शङ्का लागेर जाँच गर्दा लागु औषध फेला परेको छ । 

मङ्गलबार साँझ खातुनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ । ५० वर्षीया खातुनले हातमा बोकेको कालो प्लास्टिकको झोलाभित्र पाटाको सागको मुठामा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्लास्टिकसहित चार ग्राम १४० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यसैगरी मङ्गलबार राति दमक नगरपालिका–८, किरात चोकका २२ वर्षीय एलिसराज खरेललाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले घरमा खानतलासी गर्दा सुत्ने कोठाको खाटमुनि लुकाइ राखेको अवस्थामा प्लास्टिकसहित छ ग्राम ९७० मिलिग्राम र प्लास्टिकबाहेक पाँच ग्राम ७३० मिलिग्राम ब्राउन सुगर तथा डिजिटल तराजु बरामद गरेको जनाइएको छ ।