• ९ वैशाख २०८३, बुधबार

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

blog

बुखारेस्ट, वैशाख ९ गते । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तु अन्ततः रोमानिया फर्किएका छन् । लामो अनुसन्धान, कूटनीतिक प्रयास र कानूनी प्रक्रियापछि फिर्ता भएको यो खजाना रोमानियाका लागि केवल पुरातात्विक वस्तु मात्र नभई राष्ट्रिय पहिचान र ऐतिहासिक स्मृतिको प्रतीकका रूपमा हेरिएको छ ।

डेसिया सभ्यतासँग सम्बन्धित अलङ्कृत कोटोफेनेस्टी हेलमेट र तीन सुनौलो ब्रेसलेट जनवरी २०२५ मा नेदरल्यान्ड्सस्थित ड्रेन्ट्स सङ्ग्रहालयमा भएको योजनाबद्ध छापामार चोरीमा हराएका थिए । उक्त घटनाले अन्तर्राष्ट्रिय कला क्षेत्रमा ठूलो तरङ्ग ल्याएको थियो भने रोमानियाली अधिकारी गम्भीर चिन्तामा परेका थिए । करिब १४ महिनाको अनुसन्धानपछि, तीन जना संदिग्धसँग सम्बन्धित मुद्दा अघि बढिरहँदा अधिकांश हराएका वस्तु मङ्गलबार बुखारेस्टस्थित हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका छन् । 

त्यहाँबाट कडा सुरक्षा व्यवस्थासहित ती वस्तु राष्ट्रिय इतिहास सङ्ग्रहालयमा पु¥याइएको थियो । अहिले ती वस्तु मास्क लगाएका सशस्त्र सुरक्षाकर्मीको निगरानीमा काँचको विशेष क्याबिनेटमा राखेर सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिएको छ । सङ्ग्रहालयका अन्तरिम निर्देशक कर्नेल कन्स्टान्टिन इलीले यी वस्तुलाई सामान्य पुरातात्विक सामग्री नभई ‘ऐतिहासिक स्मृतिका जीवित अवशेष’ का रूपमा फर्काइएको बताउनुभयो । उहाँका अनुसार, यो क्षण रोमानियाका लागि खुशीसँगै आत्ममूल्याङ्कन गर्ने अवसर पनि हो । 

लामो समयसम्म यी सम्पदा सधैँका लागि हराउन सक्ने चिन्ताबीच बिताएको स्मरण गर्दै उहाँले अब यसको महत्त्वपूर्ण अंश फिर्ता आएकोमा राहत महसुस गरिएको उल्लेख गर्नुभयो । ड्रेन्ट्स सङ्ग्रहालयका निर्देशक रोबर्ट भ्यान ल्याङले पनि यस घटनालाई सबैका लागि भावनात्मक क्षण भएको बताउनुभयो । उहाँका अनुसार, नेदरल्यान्ड्समा यसको प्रभाव उल्लेखनीय भए पनि रोमानियामा यसको भावनात्मक असर अझ गहिरो थियो । दुवै देशका प्रहरी र न्यायिक निकायले समन्वयमा उत्कृष्ट काम गरेको उहाँले स्वीकार गर्नुभयो ।

यसै महिनाको सुरुआतमा डच अभियोजकले पूर्वी नेदरल्यान्ड्सको एसेन सहरमा पत्रकार सम्मेलनमार्फत बरामद गरिएका वस्तु सार्वजनिक गरेका थिए । यद्यपि, चोरी भएका तीनमध्ये एक सुनौलो ब्रेसलेट अझै फेला परेको छैन र त्यसको खोजी जारी रहेको जनाइएको छ । आगामी हप्तामा यस सम्बन्धी न्यायिक निर्णय आउने अपेक्षा गरिएको छ । चोरीपछि हराएको हेलमेट फिर्ता हुँदा केही भागमा क्षति देखिएको छ भने अन्य बरामद ब्रेसलेटहरू भने सुरक्षित अवस्थामा रहेका छन् ।

हेलमेट पगालिएको हुन सक्ने आशङ्का पनि गरिएको थियो, किनभने यसको विशिष्टता र पहिचानका कारण यसलाई अवैध बजारमा बेच्न कठिन हुने अनुमान गरिएको थियो । रोमानियाका संस्कृतिमन्त्री डिमेटर अन्द्रास इस्तवानले यस घटनाले सम्पदा र राष्ट्रिय चेतनाबिचको गहिरो सम्बन्ध उजागर गरेको बताउनुभयो । उहाँका अनुसार, यसले सांस्कृतिक सम्पदा कति संवेदनशील र जोखिममा पर्न सक्ने देखाएको छ, जहाँ हिंसा, तस्करी र लापरवाहीले ठूला क्षति पुर्याउन सक्छ । चोरीको घटनापछि सार्वजनिक भएको सुरक्षा फुटेजमा तीन व्यक्तिले क्रोबार प्रयोग गरी सङ्ग्रहालयको ढोका फुटाएको र त्यसपछि विस्फोट गराएको दृश्य देखिएको थियो । 

यसले घटना योजनाबद्ध र सङ्गठित रहेको सङ्केत गरेको थियो । सङ्ग्रहालय प्रशासनका अनुसार, केही मर्मतसम्भार अघि यी सम्पदालाई सर्वसाधारणका लागि प्रदर्शन गरिने छ । यसलाई केवल कलात्मक वस्तुका रूपमा मात्र नभई कठिन परीक्षा, लगभग अपूरणीय क्षति र त्यसपछिको सफल पुनःप्राप्तिको प्रतीकका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ । अन्ततः, यी बहुमूल्य सम्पदा स्वदेश फर्किनु रोमानियाका लागि ऐतिहासिक उपलब्धिका रूपमा स्थापित भएको छ । रासस/एपी