शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख ९ गते । ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित कमेरे डाँडामा झाक्रीढुंगा (पहरा) कुँदेर शिवको मूर्ति बनाइएको छ । विशाल शिव मूर्ति अहिले धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।
करिब एक करोड २० लाख रुपियाँ लागतमा निर्माण गरिएको ४५ फिट अग्लो उक्त ‘झाक्रेश्वर महादेव’ मूर्तिको प्राण प्रतिष्ठापछि यस क्षेत्र थप चर्चामा आएको छ । स्थानीयवासीको पहलमा निर्माण गरिएको मूर्ति २०८० साल मंसिर ६ गतेदेखि सुरु भई २०८३ साल वैशाख ६ गते सम्पन्न भएको हो ।
वैशाख ६ र ७ गते भव्य धार्मिक अनुष्ठानसहित मूर्तिको उद्घाटन गरिएको थियो भने वैशाख ८ गते तीन दिने विशेष पूजा तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको झाक्रीढुंगा निर्माण तथा पूर्वाधार निर्माण मूल समितिका अध्यक्ष उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मूर्ति निर्माणका लागि स्थानीयस्तरमा चन्दा संकलन, जनसहभागिता तथा नगरपालिकाबाट प्राप्त तीन लाख ५० हजार रुपियाँ सहयोगसहित आवश्यक बजेट जुटाइएको थियो । प्राण प्रतिष्ठा कार्यक्रममा पितृ आह्वान, मूर्ति जागरण लगायतका विविध धार्मिक विधिहरु सम्पन्न गरिएका थिए ।
धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित निर्माण गरिएको उक्त मूर्तिले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ । यससँगै स्थानीय पर्यटन प्रवर्धन, आर्थिक गतिविधि विस्तार तथा धार्मिक चेतनामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । मूर्तिको रंगरोगनको काम अझै बाँकी छ ।