• ९ वैशाख २०८३, बुधबार

चीन जोड्ने सडक : दस वर्षमा सत्र किलोमिटर मात्रै

blog

मुगु समाचारदाता

मुगु, वैशाख ९ गते । उत्तरी चीनको व्यापारिक नाकासँग जोडिएको मुगुको नाकच्यालाग्ना सडक १० वर्षमा १७ किलोमिटर मात्रै निर्माण भएको छ । निर्माणका लागि सङ्घीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगरिदिँदा ट्र्याक खोल्न ढिलाइ भएको हो ।

गमगढी–नाकच्यालाग्नासम्मको ९१ किलोमिटर सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा निर्माण भइरहेको छ । सडक डिभिजन कार्यालय जुम्ला अन्तर्गतका साइट इन्जिनियर दीपक चौधरीका अनुसार गमगढी–नाकच्यालाग्ना सडक परियोजना कार्यालयले २०७२ सालदेखि ८२ सालसम्म करिब ६० करोड रुपियाँले १७ किलोमिटर ट्र्याक खोलेको छ । नाकच्यालाग्ना सडक परियोजना कार्यालय मुगुमा स्थापना गर्ने भनिए तापनि हालसम्म स्थापना नहुँदा जुम्लाको सडक डिभिजन कार्यालयबाट नै उक्त साइडको मूल्याङ्कन र सडकको स्तरोन्नति अवलोकन गर्न र समयमै साइडमा आउजाउ गर्न कठिनाइ हुने गरेको छ । गमगढी–नाकच्यालाग्ना सडक छिटोछरितो मूल्याङ्कन र सडकको स्तरोन्नति अवलोकन गर्नलाई मुगुको सदरमुकाम गमगढीमा नाकच्यालाग्ना परियोजना कार्यालय नै स्थापना गर्न आवश्यक देखिएको साइट इन्जिनियर चौधरीले बताउनुभयो । 

थोदुङ्कक्याराभान जेभीले मुगुको मुगमकार्मारोङ गाउँपालिकाको छाँयालको गाँठ्या भिरसम्म सडक निर्माण गरेको छ ।

सडक विस्तार गर्न र सडकको स्तरोन्नति गर्न चालु आर्थिक वर्ष २०८२/८३ का लागि छाँयाल र माङ्ग्रीमा पर्ने १.२ किलोमिटर चट्टानी भिर विस्फोट गर्न र साढे सात किलोमिटर ग्राभेलका साथ साइडमा नाला निर्माणका लागि साढे छ करोड रुपियाँ सङ्घीय सरकारबाट विनियोजित भएको छ । उहाँका अनुसार उक्त सडक निर्माण गर्नका लागि थोदुङ्कक्याराभान जेभी, महेश इन्जिनियरिङ, महेश कन्स्ट्रक्सन र रारा सूर्योदय निर्माण सेवाले चालु आवको जेठ मसान्तसम्म सडक संरचना निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो तर उक्त अवधिभित्र योजना सम्पन्न नहुँदा सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले पुनः योजना सञ्चालनका लागि सम्बन्धित निकायबाट म्याद थपी अनुमति लिएका छन् ।

साढे एक किलोमिटरको भिरमा विस्फोट गरी सडक निर्माण गर्ने जिम्मा पाएको थोदुङ्कक्याराभान जेभीले हाल छाँयालबाट स्काभेटरद्वारा सडक निर्माण गरिरहेको र विस्फोटनमार्फत पहरो फोर्न नेपाली सेनाको हनुमानध्वज गुल्म राराको सहकार्य र सहजीकरणबाट विस्फोटको काम सुरु भइरहेको थोदुङ्कक्याराभानका सञ्चालक कार्मा तामाङले बताउनुभयो ।

स्थानीय पत्रकार विनोदकुमार मल्लले अहिलेको रफ्तारमा काम गर्दा नाकच्यालाग्ना सडक पूरा हुन बर्सौं लाग्ने देखिएकाले छिटो छरितो सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने सुझाव दिनुभयो । कर्णाली प्रदेशको आम्दानीको स्रोत हुने दोस्रो ठुलो नाका नाकच्यालाग्ना सडक भएकाले सङ्घीय सरकारले मुगुको नाकच्यालाग्ना सडकलाई छिटो ट्र्याक खोल्न पर्याप्त रकमको व्यवस्थापन गरी कर्णाली प्रदेशकै आम्दानीको स्रोत बढाउनुपर्ने जनाइएको छ ।

जिल्लाका छाँयानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका, मुगमकार्मारोङ गाउँपालिका र हुम्लाको चङ्खेली गाउँपालिकालगायत कर्णाली प्रदेशका १० वटा जिल्लाको पहुँचमा रहेको यो नाकाबाट सडक सम्पन्न भएको अवस्थामा सहजै जडीबुटीदेखि नेपालमा निर्मित सामग्री चीनमा निर्यात र चीनका सामान नेपालमा आयात गर्न सकिने छ ।