सुर्खेत समाचारदाता
सुर्खेत, वैशाख ९ गते । पूर्वी सुर्खेतमा मदन भण्डारी राजमार्गको स्तरोन्नति भएपछि सुर्खेतवासीका लागि दाङ, तुलसीपुर, रुकुमका साथै काठमाडौँ जाने दुरी छोटिएको छ । विगतमा दाङ, तुलसीपुर र काठमाडौँ जान बाँकेको कोहलपुर हुँदै जानुपर्ने अवस्था रहेकामा अहिले सुर्खेत वीरेन्द्रनगरबाट सिधै ती स्थानमा जान सहज भएको हो ।
हाल सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर रेशम वलीले कोहलपुर हुँदै जाने दुरीको तुलनामा मदन भण्डारी राजमार्गबाट करिब ४५ किमी कम भएको बताउनुहुन्छ । उहाँका अनुसार सुर्खेत वीरेन्द्रनगरको धुलियाबिटदेखि भेडाबारी हुँदै मदनभण्डारी राजमार्ग भएर दाङको लमही पुग्ने दुरी कुल १५३ किमी रहेको छ । कोहलपुर हुँदै जानु परेमा १९७ किमी दुरी पार गर्नु पर्छ । इन्जिनियर वलीका अनुसार अहिले वीरेन्द्रनगरबाट केही यातायात यही मदन भण्डारी राजमार्ग हुँदै जाने गरेका छन् ।
मदन भण्डारी राजमार्गको धुलियाबिट–भेडाबारी खण्ड अहिले कालोपत्रे भइसकेको छ । विगतमा निकै जीर्ण रहेको सो सडकलाई पछि मदन भण्डारी राजमार्गमा नामकरण गरिएपछि काम तीव्र गतिमा भएको थियो । राजमार्ग कालोपत्रे भए पनि साना सवारीसाधन अहिले यतैबाटै जाने गरेका छन् । विगतमा सुर्खेतदेखि दाङ घोराही, तुलसीपुर, सल्यान र रुकुम जिल्लासँग सिधा यातायात सम्पर्क थिएन । ती जिल्ला जानु पर्दा बाँकेको कोहलपुर हुँदै दाङको लमही पुग्नुपर्ने अवस्था थियो तर अहिले ती जिल्लामा वीरेन्द्रनगरबाट सिधै गाडी जाने गरेका छन् ।
सुर्खेत काँक्रेबिहार यातायात प्रालिका कार्यालय प्रमुख गोविन्द शर्माले मदन भण्डारी राजमार्ग हुँदै अहिले एउटा बस काठमाडौँका लागि छुट्ने गरेको बताउनुभयो । यही राजमार्ग निर्माण भएपछि दाङ, सल्यान, रुकुमका लागि पनि दैनिक साना गाडीहरू छुट्ने गरेको उहाँको भनाइ छ । यताबाट ४५ किमी दुरी छोटिँदा यातायात व्यवसायीलाई करिब २० लिटर इन्धन कम खपत हुने उहाँले बताउनुभयो ।
यातायात व्यवसायीका लागि कोहलपुर हुँदै जाँदा अतिरिक्त यात्रु राख्दा केही आम्दानी हुने भए पनि यात्रुका लागि मदन भण्डारी राजमार्ग हुँदै जाँदा छिटो र सहज हुने उहाँको भनाइ छ ।