हुम्ला समाचारदाता
हुम्ला, वैशाख ९ गते । हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–६ को पाल्स गाउँको कैशालपुरी माध्यमिक विद्यालयका विद्यार्थी एक वर्षदेखि टहरामा अध्ययन गर्दै आएका छन् । विद्यालयको पुरानो जीर्ण भवन भत्काएपछि कामचलाउ रूपमा निर्माण गरिएका जस्तापाताले बारेर बनाइएका टहरामा विद्यार्थी अध्ययन गरिरहेका हुन् ।
विद्यालयको पुरानो भवन एक वर्षअगाडि भत्काइएपछि सोही स्थानमा जस्तापाताले बनाइएका टहरामा विद्यार्थी अध्ययन गर्न बाध्य भएको अभिभावक गणेश बोहराले बताउनुभयो ।
दुई वटा भवन जीर्ण भएपछि विद्यार्थीलाई अध्ययन गर्न जोखिम रहेको निष्कर्ष निकाल्दै स्थानीयले जीर्ण भवन भत्काई त्यहाँ काठ र जस्तापाताको टहरा बनाइएको थियो ।
जीर्ण भवन भत्काउनुअगाडि नै नयाँ भवनको माग गरिए पनि हालसम्म कतैबाट पनि त्यसको सुनुवाइ नभएका कारण टहरामै पढाउनुपरेको विद्यालयका प्रधानाध्यापक दलबहादुर बुढाले बताउनुभयो ।
हाल टहरामा बालविकासदेखि ८ कक्षासम्मका विद्यार्थी अध्ययन गर्ने गर्छन् । कक्षा ९ र १० का विद्यार्थी भने अर्को जीर्ण भवनमा अध्ययन गर्ने बताउँदै उहाँले कार्यालयसमेत जीर्ण अवस्थाको भवनमा सञ्चालन हुँदै आएको उल्लेख गर्नुभयो । बर्खामा पानी पर्दा चुहिने समस्या भोग्नुपर्ने र घाम लाग्दा अत्यधिक गर्मी हुने गर्छ । विद्यालयमा ३२२ जना विद्यार्थी अध्ययन गर्दछन् ।