फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख १० गते । स्थापनाको नौ वर्षपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । २०७४ सालबाटै साविक लाहाचोक गाउँ विकास समितिको भवनबाट सेवा दिँदै आएको गाउँपालिका बिहीबार वडा नम्बर ४, लाहाचोकमै बनाइएको नयाँ भवनमा सारिएको हो ।
बिहीबार गृह प्रवेशपछि शुक्रबारबाट पालिकाका सबै सेवा नयाँ भवनबाट दिइने छन् । गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले अब सेवा प्रवाह गर्न थप सहज हुने बताउनुभयो । “पुरानो गाविसको भवनमा दुई/तीन वडा शाखा नै एकै कोठाबाट चलाएका थियौँ,” उहाँले भन्नुभयो, “अब सबै शाखाका आ–आफ्नै कोठा छन् । सेवा प्रवाह गर्न थप सजिलो हुन्छ ।”
पालिकाको तीन तले नयाँ भवनमा ३६ वटा कोठा छन् । सभा हल, न्यायिक समितिको इजलाससहित सबै शाखाले एकै ठाउँबाट सेवा दिने तयारी छ । गाउँसभा, कार्यपालिका बैठकका लागि समेत सभा हल नयाँ भवनमा छ । सात करोड २६ लाख २८ हजार एक सय ८० रुपियाँमा बनेको यो भवन अपाङ्मैत्री र लिफ्टसहितको छ ।
प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले भवन परिसरमा दुई जना स्थानीयको जग्गा रहेकोमा ती जग्गासमेत पालिकाले लिने गरी तयारी भइसकेको बताउनुभयो । पाँच सय ४४ वर्ग किमि क्षेत्रफल रहेको यो पालिकामा नौ वटा वडा छन् । स्थानीय तहमा केन्द्रीय अनुदानबाट भएको खर्चको तुलनामा आन्तरिक आयको हिस्सा करिब पाँच प्रतिशतमात्र छ ।