• १० वैशाख २०८३, बिहिबार

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

blog

कपिलवस्तु कारागारमा कैदीबन्दीले उत्पादन गरेको सामाग्री । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), वैशाख १० गते । जिल्लाको कपिलवस्तु कारागारमा रहेका कैदीबन्दीले उत्पादन गरेका विभिन्न सामग्री बजार अभावका कारण थन्किने अवस्थामा पुगेका छन् ।

कारागारभित्रै सिप सिक्दै कैदीबन्दीले मूर्ति, मुडा, गलैँचा तथा विभिन्न फर्निचरका सामग्री उत्पादन गर्दै आएका छन् ।

 तर ती सामग्रीलाई बजारसम्म पुर्‍याउन नसक्दा उत्पादनको उचित मूल्य पाउन कठिन भइरहेको छ ।

कारागार निमित्त कार्यालय प्रमुख रेशमलाल भुसालले सिपमूलक तालिम मात्र पर्याप्त नभई उत्पादित सामग्रीलाई बजारसँग जोड्न आवश्यक रहेको बताउनुभयो । 

“यहाँ उत्पादन भएका वस्तुहरू बाहिर लैजान र बिक्री वितरण गर्न कारागारबाट मात्रै सम्भव छैन, त्यसैले निजी क्षेत्र वा व्यवसायीसँग सहकार्य गर्न हामी तयार छौँ,” उहाँले भन्नुभयो ।

कारागारमा रहेका कैदीबन्दीले मासिक करिब ६०० वटा मुडा उत्पादन गर्ने गरेका छन् भने हातबाट गलैँचा बुन्ने कार्य पनि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । 

उत्पादनको गुणस्तर राम्रो भए पनि बजार अभावले उनीहरूको उत्साहमा असर पर्ने देखिएको छ ।घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले कारागारमा उत्पादन भएका सामग्रीहरूलाई ब्रान्डिङ, बजारीकरण र प्रदर्शनी मार्फत बाह्य बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

“यदि यस्ता उत्पादनलाई उचित प्लेटफर्म दिन सकियो भने कैदीबन्दीहरूको सिपलाई आम्दानीसँग जोड्न सकिन्छ,” उहाँले बताउनुभयो । कारागारमा हाल ३८६ जना कैदीबन्दी छन् ।