हङ्गेरी युरोप महादेशको सानो देश भनेर चिनिन्छ । हालैका सातामा यसको चर्चा विश्वव्यापी भइरहेको छ । गत वर्ष फागुनमा नेपाल चर्चित भएजस्तै । यता फागुन २१ गतेको चुनावी अभ्यासले ल्याएजस्तै नतिजा उता २९ चैत (१२ अप्रिल) को संसदीय निर्वाचन परिणामले ल्याइदियो । प्रधानमन्त्री ६२ वर्षीय भिक्टर अर्बान नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको जनधारणा मतदानका बखत प्रखर ढङ्गले प्रकट भयो । ८१ लाख मतदातामध्ये ७७ प्रतिशतले आ–आफ्नो मताधिकार प्रयोग गरे । नतिजा आयो– १९९ स्थान भएको एक–सदनात्मक संसद्मा टिस्सा पार्टी १३८ स्थान हासिल गर्न सफल भयो । यो अभूतपूर्व उपलब्धिबाट उत्साहित नेता ४५ वर्षीय पिटर मज्यारले जनमानसमा ठूलो हौसला प्रदान गरेका छन् ।
निर्वाचन नतिजा आएको दिन बेलुकीदेखि भोलिपल्ट बिहानसम्म खुसीयाली मनाउनेहरूले राजधानी बुडापेष्ट नगरलाई जीवन्त राखे । भनौं, देश नै रातभर जाग्राम बस्यो । विजय–उल्लासमा समर्थकलाई सम्बोधन गर्दा युवानेता मज्यारले ‘भ्रष्टहरू त अपदस्थ भए नि’ भन्ने आसयका शब्द उच्चारण गरेका थिए । आफ्नो देश ‘ऐतिहासिक क्षण’ मा आइपुगेको उनको अर्को उद्घोष थियो । हङ्गेरीमा कानुनको स्नातक उपाधि लिएका मज्यारले जर्मनीको बर्लिनमा पनि उच्चशिक्षा हासिल गरेका छन् । उनको लोकप्रियता लोभलाग्दो छ ।
यथार्थमा यसपालिको निर्वाचन अर्बानका आन्तरिक नीति र मास्कोतिर ढल्केको उनको परराष्ट्रनीतिउपर जनमतसङ्ग्रह नै साबित भयो । “दुष्टहरूको जमातलाई हङ्गेरीकै जनताले लखेट्न सक्थे, आखिर लखेटेरै देखाइदिए”– टिप्पणीकार जोन ओ’ सल्लिभानको कथन छ । यिनी एक समय बेलायतकी प्रधानमन्त्री मार्गारेट थ्याचरका नीति–सल्लाहकार र भाषण–लेखक थिए । हुन पनि विगत १६ वर्षदेखि सत्तामा रजगज गर्दैआएको अर्बान र उनको दल फिडेस यसपालि नराम्ररी पराजित भए । तत्कालै पराजय स्वीकार पनि गरे । अब अर्बानको ठाउँ फिडेसबाटै विद्रोह गरी दुई वर्षअघि स्थापित गरिएको दल टिस्साका नेता मज्यारले लिन लागेका छन् । उनको विद्रोह भ्रष्टाचारी प्रवृत्तिको विरोधमा केन्द्रित थियो । जे होस्, मज्यार चाँडै प्रधानमन्त्री पदमा बहाली गर्दै छन् । संसद्को अधिवेशन डाक्नेलगायतका संवैधानिक प्रकृया पूरा गरेर शपथग्रहण मे महिनाको १० तारिखसम्ममा भइसक्ने अनुमान छ ।
जोखिम र सावधानी
निर्वाचन परिणाम आएलगत्तै मज्यारले राष्ट्रपति टमस सुल्योकसित भेट गरी सरकार गठनको काम जतिसक्यो छिटो सम्पन्न गरेर आफूले राजीनामा दिनोस् भन्ने आग्रह गर्न भ्याएका थिए । वर्तमान राष्ट्रपति पराजित अर्बानकै कठपुतली ठानिएका छन् । कदाचित् नयाँ सरकारको बहाली ढिलो भएमा अर्बानका मतियार र आसेपासेले भ्रष्टाचार प्रमाणित हुने सबुद एवं कागजपत्र लुकाउने वा नष्ट गर्ने जोखिमको चर्चा सार्वजनिक रूपमा भइरहेको छ ।
अर्बानको दल ५५ स्थानमा विजयी भएको छ र अब संसद्को विपक्षी बेञ्चमा बस्नेछ । अन्य साना दलहरूको सहभागिता उल्लेख्य तहमा हुने छैन । सैद्धान्तिक कोणबाट विश्लेषण गर्नेहरूले निर्वाचनमा सहभागी मुख्य दुई दलमध्ये टिस्सा ‘मध्यमार्गी’ हो भनेका छन् । अर्थात् यो केन्द्रबाट थोरै दाहिने विन्दुमा अडेको दल मानिएको छ । अर्बानको फिडेस चाहिँ कट्टर संरक्षणवादी (कञ्जरभेटिभ) दल भनेर चिनिन्छ । यसपल्ट मध्यमार्गीलाई के फाइदा भयो भने यसले वामपन्थी झुकाउका दल र समूहको भोट पनि आफूतिर तान्न सफल भयो । यताका असन्तुष्ट र उताका विद्रोही दुवैतिरको समर्थन जुटाउन सफल भयो ।
इतिहासको कुनै कालखण्डमा अस्ट्रो–हङ्गेरियन साम्राज्यको अङ्ग रहेको हङ्गेरी दोस्रो विश्वयुद्धपछि उतिखेरको सोभियत समाजवादी शिविरमा रहेको मुलुक बनेको थियो । सन् १९५६ मा हङ्गेरीका जनताले कठोर कम्युनिस्ट शासन–व्यवस्थाविरुद्ध विद्रोह गरे । त्यसलाई दबाउन मास्कोका शासकहरूले बख्तरबन्द ट्याङ्कहरू हङ्गेरीमा प्रवेश गराए । हजारौंको संख्यामा गैरसैनिक सर्वसाधारण मारिए, लाखौं अन्यत्र देशमा शरणार्थी हुन पुगे । त्यो हङ्गेरियाली सङ्कट र त्यससँग गाँसिएको मामिला संयुक्त राष्ट्रसंघमा पुग्यो, सुरक्षा परिषद् र महासभा दुवै क्रियाशील भए । त्यसैताका हो, सन्
१९५५ मा राष्ट्रसंघको सदस्यता पाएको नेपालले हङ्गेरीमा बाहिरी हस्तक्षेपको विरोध गरेको ।
नेपालका पहिलो स्थायी प्रतिनिधि (राजदूत) हृषिकेश शाहले नेपालको त्यो सही दृष्टिकोण प्रभावकारी ढङ्गले प्रस्तुत गरेको कुरा अभिलेखमा पाइन्छ । सन् १९५० को दशकमा शाहका लागि यो चानचुने चुनौती थिएन किनभने अहिलेको जस्तो छिटो–छरितो सञ्चारप्रणालीको अभावमा न्यूयोर्कबाट काठमाडौं सम्पर्क राखी आदेश–निर्देश लिन सम्भव थिएन । राजदूतले साँच्चिकै स्वविवेकमा नेपालको राष्ट्रियहित अनुकूलका धारणाको निर्माण गर्नुपथ्र्यो ।
हालको घटना–विकासलाई नियालौँ
बाक्लो छिमेक
हङ्गेरीको राजनीति र चुनावी अभ्यासबारे छिमेकीहरूको चासो हुनु स्वाभाविक भयो । नेपालजस्तै भूपरिवेष्टित यस मुलुकको छिमेकमा भने सातवटा देश छन्– अस्ट्रिया, स्लोभाकिया, क्रोएसिया, सर्बिया, रूमेनिया, स्लोभेनिया र युक्रेन । अनि युरोपेली संघ (ईयू) का २७ सदस्य–राष्ट्रमा हङ्गेरी पर्ने हुनाले ब्रसेल्सले पनि यसपालिको निर्वाचनलाई नजिकबाट नियालिरहेको थियो, छ ।
ईयूका बैठकमा उठ्ने विषयमा अर्बानको सरकारले सधैंजसो त्यस्तो विद्रोही दृष्टिकोण प्रस्तुत गर्दथ्यो जुन रूसको मनसाय अनुरूपको हुने गथ्र्यो । यता, अर्बानको भ्रष्ट राजनीतिक र प्रशासनिक संयन्त्रले साधन–स्रोतको दुरुपयोग नरोकेकाले ईयूका साझेदारहरू आजित भएका थिए । त्यही कारण ईयूको बजेटबाट हङ्गेरीले पाउने सहायता (१० अर्ब यूरो) समेत रोकिएको छ ।
त्यसैगरी, हङ्गेरीमा मानव अधिकार र लोकतन्त्र कुण्ठित अवस्थामा थिए । लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएको नेता कसरी ‘निर्वाचित तानाशाह’ हुन पुग्छ भन्ने उदाहरण हङ्गेरीका अर्बानले उपलब्ध गराएका थिए । देशको मिडिया कि सोझै सरकारी नियन्त्रणमा रहन्थ्यो कि त अर्बानका निकटस्थहरूको लगानीमा चल्ने निर्देशित संयन्त्र बन्न पुग्दथे । यसप्रकार अर्बानलाई क्रमिक रूपले स्वेच्छाचारी हुने वातावरण निर्माण भएको हो । हङ्गेरीमा लोकतान्त्रिक पद्धतिको विशेषता मानिने ‘नियन्त्रण र सन्तुलन’ (चेक एन्ड ब्यालेन्स) को मान्यता पूरै खल्बलिएको थियो ।
आश्चर्यको कुरो, भिक्टर अर्बान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्राध्यक्ष भ्लादिमिर पुटिन दुवैले मन पराएका नेता थिए । ट्रम्पले त उपराष्ट्रपति जे.डी. भ्यान्सलाई निर्वाचनको मुखैमा हङ्गेरी पठाए; जहाँ उनले अर्बानको समर्थनमा भाषणसमेत गरे तर हङ्गेरीका मतदाताले बाहिरी हस्तक्षेप रुचाएनन् । अनि, ईयूको आर्थिक र सैनिक सहयोग युक्रेनतिर नजाओस् भनेर अर्बानको सरकारले पटक–पटक भाँजो हाल्ने गरेको कुराले पनि अधिकांश मतदाता आक्रोशित थिए । यस्ता नीतिबाट ईयू त रुष्ट हुन्थ्यो तर मास्को भने प्रसन्न रहन्थ्यो । यसउसले मास्को र वाशिङ्टन दुवैलाई अर्बानको पराजयले नोक्सानी भएको छ । मज्यार नेतृत्वको सरकार आएपछि छिमेकको युक्रेनले चाहिँ केही राहत महसुस गरेको छ । चुनावी जितका लागि मास्कोबाट पुटिनको फोन आएको भए मज्यारले युक्रेनउपरको चढाञी रोक्नुहोस् भन्ने सोच बनाएको कुरा सार्वजनिक जानकारीमा आएको छ । पश्चिमा जगत्का भनेर चिनिने धेरै देशबाट बधाई आयो । अपवाद भयो त ट्रम्पको अमेरिका ।
यता ब्रसेल्सले अब हङ्गेरी फेरि युरोपको एकीकृत पङ्क्तिमा आएको सुखद अनुभव गरेको छ । हङ्गेरी सन् २००४ मै इयूको सदस्य भएको हो । सन् १९९९ मा अर्थात् अर्बानको पहिलो कार्यकालमा यो देश पश्चिमा सैनिक गठबन्धन ‘नेटो’ को सदस्य भइसकेको थियो ।
सूचनाको चुहावट
कूटनीतिक वृत्तमा चर्चा हुन्छ, ब्रसेल्समा ईयूका बैठकमा हुने आन्तरिक कुराकानीको संक्षेप तात्तातै मास्कोले पाउने गर्दथ्यो । त्यस्ता घटनाले ईयूका कतिपय नेताहरू हङ्ेरीका पदाधिकारीसँग सशंकित रहँदै आएका हुन् । अर्बान सन् २०१० देखि लगातार शासन–सत्तामा टिक्दै आउनुको अर्को कारण हो– सन् १९९८–२००२ को अवधिमा पहिलो पटक शासन–सत्ता चलाएका बखत नै उनी भविष्यका लागि आधार बलियो बनाउने तारतम्य मिलाउन सफल हुनु । उनी त्यस बखत ३५ वर्षका युवक थिए ।
नयाँ नेता मज्यार भ्रष्टाचार घटाउने सिलसिलामा न्यायपालिकाको स्वतन्त्रता पुनःस्थापना गराउने पक्षमा छन् । किनभने अर्बानको १६ वर्ष लामो कार्यकालमा उनले न्यायाधीशलाई आफ्नो प्रभावमा राखेका थिए । नव–निर्वाचित प्रधानमन्त्रीको निशानामा साबिकका प्रधानमन्त्रीका ती आसेपासे पर्ने भएका छन्; जसलाई ठेक्का–पट्टा दिएर धनी बनाउने प्रचलन संस्थागतझैं भएको थियो । शिक्षा र स्वास्थ्य नयाँ सरकारप्रमुखको प्राथमिकतामा पर्छ ।
अर्थव्यवस्थालाई प्रगतितर्फ उन्मुख गराउन पनि मज्यार लालायित देखिन्छन् । झण्डै १० लाख जनसंख्या भएको हङ्गेरीको निर्वाचन प्रणाली पनि प्रत्यक्ष र समानुपातिक गरी मिश्रित ढाँचाको छ । प्रत्यक्षबाट १०६ जना र समानुपातिकबाट ९३ जना निर्वाचित हुन्छन् । सन् १९९० मा कम्युनिस्ट शासन अन्त्य भएपछि बहुदलीय लोकतान्त्रिक पद्धतिमा प्रवेश गरेको हङ्गेरीमा हरेक चार वर्षमा संसदीय चुनाव हुँदै आएको छ । ९३,०२८ वर्ग किलोमिटर क्षेत्रफल भएको हङ्गेरीको अर्थव्यवस्था दोस्रो विश्वयुद्धअघिसम्म कृषिमा निर्भर थियो ।
सन् १९४८ मा त्यहाँ सोभियत शैलीको औद्योगिकीकरण थालियो । अलिकपछि ढाँचा परिवर्तन भयो, बजार अर्थतन्त्रलाई सुहाउने बिजुलीका सामान, इलेक्ट्रोनिक वस्तु र बिजुली–वाहनको ब्याट्री आदि उत्पादन गरी निर्यात गर्ने काममा हङ्गेरीले दक्षता हासिल गरेको छ । पर्यटन व्यवसाय पनि फस्टाउँदै छ ।
अन्त्यमा–
हङ्गेरीको चुनाव नजिक आएका बखतको एक अग्रलेखमा बेलायतको साप्तहिक पत्रिका ‘द इकोनोमिस्ट’ ले शीर्षकमै त्यो देशलाई ‘लघु’ (टाइनी) राष्ट्रका रूपमा चित्रित गरेको पाइयो । युरोपमा हङ्गेरीको भन्दा आधा जनसंख्या समेत नभएका राज्य पनि छन् । यस कुरामा पत्रिकाको ध्यान पुगेजस्तो लागेन । यसै सिलसिलामा ‘के नेपाल सानो
छ ?’ भन्ने लक्ष्मीप्रसाद देवकोटाको निबन्धको सम्झना हुन्छ । हो, त्यस निबन्धमा महाकविको देशप्रेम छताछुल्ल छ, तर त्यहाँ आधारविनाका बहस–बुँदा मात्र छैनन् । जस्तो, मान्छेभन्दा हात्ती ठूलो हुन्छ भन्ने मान्यतालाई निबन्धकारबाट चुनौती दिइएको छ । आकारले भीमकाय हुँदैमा सीप, क्षमता र बुद्धि–विवेक पनि तदनुरूपको हुन्छ भन्न कसरी सकिन्छ र ?