फलेवास समाचारदाता
पर्वत, वैशाख १० गते । अन्नपूर्ण हिमशृङ्खलाको काखबाट मूल फुटेर बग्ने मोदी खोला स्वच्छ पानी बग्ने नदीमा पर्छ । यहाँको कञ्चन पानीमा जलीय जैविक विविधता मात्र नभई नदीले सिञ्चित वरपरको भूमि निकै महत्वपूर्ण मानिन्छ तर पछिल्ला दिनमा यो नदीमा विकास गरिएका जलविद्युत् आयोजनाले यो नदीलाई जैविक विविधतायुक्त नदीभन्दा पनि ‘ऊर्जा नदी’ का रूपमा परिचय दिन थालेको छ । नदीको तलदेखि माथिसम्म ऊर्जा उत्पादन गर्ने मेसिन सञ्चालन भइरहँदा अहिले भने आफ्नै अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको देखिन्छ । जलविद्युत् आयोजनाको तीव्र विस्तारसँगै खोलाको प्राकृतिक बहाब परिवर्तन हुँदै जाँदा मोदी खोलावरपरका बासिन्दाको जीवनशैलीदेखि पर्यावरणसम्म गम्भीर असर परेको छ । केही वर्षअघिसम्म मोदी खोलामा पाइने असला माछाको विशेष चर्चा हुन्थ्यो । नदी किनारका वीरेठाँटी, नयाँपुल, अम्बोट जस्ता क्षेत्र मोदीको माछाका लागि परिचित थिए । स्थानीयले माछा मारेर जीविकोपार्जन गर्थे भने यात्रु र आन्तरिक पर्यटक पनि यही माछा स्वाद लिन ती ठाउँमा रोकिने गर्थे । पोखरा, बागलुङतर्फ गएका सवारीसमेत अम्बोटमा रोकेर माछा खाने चलन थियो तर अहिले ती क्षेत्र सुनसान बन्दै गएका छन् । खोलामा पानी घटेपछि माछा हराउँदै गएका छन् ।
स्थानीयवासीका अनुसार जलविद्युत् आयोजनाले खोलाको पानी ड्यामतर्फ मोड्दा प्राकृतिक बहाब नै अवरुद्ध भएको हो । खोलामा न्यूनतम पानी छाड्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको गुनासो छ । स्थानीय माधव पौडेल भन्नुहुन्छ, “मोदीखोलामा सञ्चालित सबै आयोजनाले सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गर्दा अहिले खोला पानीविहीन जस्तो बनेको छ । नियम अनुसार कम्तीमा १० प्रतिशत पानी छाड्नुपर्ने हो तर त्यसको अनुगमन गर्ने निकाय कमजोर देखिन्छ ।” उहाँका अनुसार यसले जलचर मात्र होइन, समग्र पारिस्थितिकीय प्रणालीमा गम्भीर असर पारिरहेको छ । उहाँले भन्नुभयो, “खोलाको अस्तित्व नै सङ्कटमा छ, माछा र अन्य जलचर लोप हुने अवस्थामा पुगेका छन् । पानीको मुहान सुक्ने, जङ्गलमा असर पर्ने र खेतीपातीका लागि सिँचाइ अभाव हुने समस्या बढ्दै गएको छ ।”
सबैभन्दा पहिले सञ्चालनमा आएको मोदीखोला जलविद्युत् केन्द्र १४ मेगावाट क्षमताको हो । जसलाई नेपाल विद्युत् प्राधिकरणले २०५७ सालमा निर्माण सम्पन्न गरेको थियो । त्यसपछि तल्लो मोदी–१ जलविद्युत् आयोजना सञ्चालनमा आयो । जसले दशकभन्दा बढी समयदेखि उत्पादन दिँदै आएको छ । हालै २० मेगावाट क्षमताको तल्लो मोदी आयोजना पनि सञ्चालनमा आएको छ । त्यसै गरी निजी क्षेत्रबाट चौधरी समूहको लगानीमा १५.१ मेगावाट क्षमताको मोदी जलविद्युत् आयोजना सञ्चालनमा छ । यसबाहेक नेपाल विद्युत् प्राधिकरणले वीरेठाँटी क्षेत्रमा ४० मेगावाट क्षमताको माथिल्लो मोदी आयोजना र १८ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ आयोजना निर्माण गरिरहेको छ । छोटो दुरीमा बग्ने मोदी खोलामा निर्माण सम्पन्न भएका र निर्माणाधीन आयोजनाको कुल क्षमता करिब ११७.१ मेगावाट पुगेको छ तर विडम्बना के छ भने यति धेरै आयोजना हुँदा पनि पानीको अभावका कारण विद्युत् उत्पादन नै प्रभावित हुन थालेको छ । तल्लो मोदी–१ का निर्देशक उपेन्द्र गौतमका अनुसार माथिल्लो क्षेत्रमा थपिएका आयोजनाका कारण तलतिर पानीको मात्रा घटेको छ ।
उहाँले भन्नुभयो, “हामीले डिजाइन गर्दा जति पानी आउने अनुमान गरेका थियौँ, त्यो मात्राको पानी अहिले छैन । अहिले तीन मेगावाटभन्दा बढी उत्पादन गर्न पनि कठिन भइरहेको छ ।”
यद्यपि आफूहरूले नियम अनुसार आवश्यकभन्दा बढी पानी नै खोलामा छाडेको उहाँको दाबी छ । नयाँपुल क्षेत्रमा होटेल सञ्चालन गर्दै आउनुभएका गौरव क्षेत्री भन्नुहुन्छ, “हामी सानो हुँदा दाइहरूसँग खोला गएर माछा माथ्र्र्यौं । त्यो माछा होटेलमा बिक्री हुन्थ्यो । मोदीको माछा खान भनेर मानिसहरू टाढा टाढाबाट आउँथे । अहिले भने खोला नै सुक्दै गएपछि माछा पाइन छाडेको छ, व्यवसाय पनि घट्दै गएको छ ।” पर्यावरणविद्का अनुसार नदीको प्राकृतिक बहाब घट्दा त्यसले दीर्घकालीन रूपमा ठुलो क्षति पु¥याउन सक्छ । नदी केवल पानी बग्ने माध्यम मात्र होइन, त्यो सम्पूर्ण पारिस्थितिकी तन्त्रको आधार हो ।
जलविद्युत् उत्पादनका लागि पानी प्रयोग आवश्यक भए पनि नदीको न्यूनतम बहाब कायम राख्नु अत्यावश्यक हुन्छ । स्थानीय तथा जलसरोकारवालाले अब कडाइका साथ नियम कार्यान्वयन गर्नुपर्ने, प्रत्येक आयोजनाले अनिवार्य रूपमा न्यूनतम पानी छाड्नुपर्ने र त्यसको नियमित अनुगमन गर्नुपर्ने माग गरेका छन् ।