काठमाडौँ, वैशाख ९ गते । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न पुनः निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपियाँ खिच्ने भएको छ।
बैंकिङ प्रणालीमा कर्जाको माग नबढ्दा तरलता अत्यधिक बढेपछि राष्ट्र बैंकले १६० दिनका लागि उक्त रकम तान्न लागेको हो। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई रकम उपलब्ध गराइरहेका छन्।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत रकम खिच्दै आएको छ। यसका लागि बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाहरूले प्रस्ताव गरेको ब्याजदरका आधारमा सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। अनलाइन प्रणालीमार्फत बोलकबोल गरिनेछ र ब्याजदर पनि सोही प्रक्रियाबाट निर्धारण हुनेछ।
बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपियाँ र अधिकतम कुल आह्वान रकमभित्र पाँच करोड रुपियाँको गुणनफलमा रकम प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।
१६० दिने उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आउँदो असोज २१ गते गरिनेछ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापनका लागि केन्द्रीय बैंकले अधिकतम ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले पटक–पटक यस्तो उपकरण प्रयोग गर्दै आएको छ।