• १० वैशाख २०८३, बिहिबार

आओस् नयाँ वर्ष

blog

पानी नपर्दो न त घाम लाग्दो

छ याम ऐले त उदेकलाग्दो

धुम्मेर बस्दो दिन सङ्लिएर

आओस् नयाँ वर्ष नयाँ भएर ।


चलोस् हुरी जोड र तोडसाथ

बर्सात बर्सोस घनघोर प्रातः

हटोस् तुवाँलो दिन सङ्लिएर

आओस् नयाँ वर्ष नयाँ भएर ।


खसुन् पुराना सब पात पत्ता

छाओस् धराबिच नवीन सत्ता

नवीन नौलो लहरै लिएर

आओस् नयाँ वर्ष नयाँ भएर ।


लागुन् मुना फुल्न र फल्न फेरि

सुवास छर्दै र दिँदै सुसेली

सद्भावले सोच नयाँ भरेर

आओस् नयाँ वर्ष नयाँ भएर ।


खोला र नाला धमिला थिए ती

सङ्लेर छन् कञ्चन छन्दमा ती

स्वच्छन्दको छाल यतै लिएर

आओस् नयाँ वर्ष नयाँ भएर ।


छ मौनता यो अब झट्ट खुल्दै

ती कोपिला झैँ सब पट्ट फुक्दै

मान्छे हिँडुन् ती भुइँका उमेर

आओस् नयाँ वर्ष नयाँ भएर ।


जताततै छन् मनमा निराशा

हटाई एकेक जगाई आशा

उत्साह चारैतिर फैलिएर

आओस् नयाँ वर्ष नयाँ भएर ।


आचार होस् शुद्ध मिजास शुद्ध

यो बुद्धको देश बनून् प्रबुद्ध

हटून् हटून् भ्रष्ट लतारिएर

आओस् नयाँ वर्ष नयाँ भएर ।


हासेर निर्धा निमुखाहरूले

बोल्दा कसैलाई नडसून् अरूले

समान सम्मान खुसी लिएर

आओस् नयाँ वर्ष नयाँ भएर ।