अमरराज नहर्की
तनहुँ, वैशाख १० गते । नगरपालिकाको केन्द्रसम्म पुग्न कठिन पर्ने विकट क्षेत्रका बासिन्दालाई लक्षित गरी तनहुँको एक पालिकाले घरदैलोमै प्रशासनिक सेवा पुर्याउन सुरु गरेको छ । व्यास नगरपालिकाले वडा नम्बर १४ को केशवटारमा एकीकृत घुम्ती शिविर सञ्चालन गरी स्थानीयलाई गाउँमै सरकारको अनुभूति गराएको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भौगोलिक विकटताले गर्दा सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न नागरिकको आँगनमा पुगेको बताउनुभयो ।
घरदैलो सेवा पाउँ ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू विशेष खुसी भएका छन् । सामाजिक सुरक्षा भत्ताको कार्ड, राष्ट्रिय परिचयपत्र वितरण र व्यक्तिगत घटना दर्ता लगायतका कामहरू मङ्गलबार सम्पन्न गरिएको छ भने अन्य विकट क्षेत्रमा शिविर सञ्चालन गरिने नगरपालिको जनाएको छ । वडास्तरमा सञ्चालन हुने विकास योजनाहरूको सम्झौता र भुक्तानीका लागि आवश्यक सिफारिस समेत सोही स्थानबाटै प्रदान गरिएको छ ।
किसानहरूका लागि कृषि उपशाखाले बालीमा लाग्ने रोगको उपचारका लागि औषधी वितरण गर्नुका साथै विशेषज्ञ परामर्श समेत प्रदान गरेको थियो । एकै स्थानबाट सबै प्रकारका प्रशासनिक र प्राविधिक सेवा उपलब्ध गराएर नागरिकको समय र खर्च बचत गर्ने नगरपालिकाको उद्देश्य अनुरुप शिविर गरिएको नगरपालिकाले जनाएको छ ।