• १० वैशाख २०८३, बिहिबार

विचार कहाँबाट आउँछ ?

blog

टेस्लाले आफ्नो अर्को अन्तर्वार्तामा के पनि भनेका थिए भने जब उनी सुत्न जान्थे तब सधैँ एउटा नोटबुक र कलम आफूसँगै राख्थे । किनकि सुतेको समयमा उनको दिमागमा विचारको आवागमन भइरहन्थ्यो र सुतेका बेला ब्रह्माण्डले उनलाई धेरै कुरा सिकाउँथ्यो ।

विश्वका महान् वैज्ञानिक निकोला टेस्ला ८५ वर्षको भएपछि  विज्ञानको संसारमा उनको अपूर्व योगदानको कदर गर्दै एक अभिनन्दन समारोह आयोजना गरिएको थियो । त्यो समारोहमा एक जना पत्रकारले टेस्लासँग यति धेरै आविष्कार कसरी गर्नुभयो, अनि यस्ता विचार कसरी र कहाँबाट आए भन्ने प्रश्न सोधे । त्यसको जवाफमा टेस्लाले जे भने त्यो धेरै ध्यान दिनुपर्र्नेे खालको छ ।

उनले भने, “म कुनै बुद्धिमान व्यक्ति होइन । मलाई त कहिलेकाहीँ मानिसले भनेका साधारण कुरा बुझ्न पनि समस्या हुन्छ । मेरा सबै आविष्कार मेरो दिमागमा उठेका विचारको देन हुन् तर ती विचारको दिमाग र बुद्धिमत्तासँग कुनै सम्बन्ध छैन । किनकि ती विचार दिमागमा पक्कै आउँछन् तर तिनलाई दिमागले उत्पन्न गरेको होइन । विचार त ब्रह्माण्डमा उत्पन्न हुने गर्दछ । तपाईंको सोचाइ र बुद्धिसँग यसको कुनै सम्बन्ध छैन । विचार रेडियो तरङ्ग जस्तै हुन् । जुन ब्रह्माण्डको कुनै केन्द्रबाट निरन्तर प्रसारण भइरहेका हुन्छन् । मानव मस्तिष्कले यी तरङ्गका लागि केवल एउटा रिसिभरका रूपमा मात्रै कार्य गर्छ ।”

टेस्लाका अनुसार मस्तिष्क एउटै काम गर्नका लागि डिजाइन गरिएको हो र त्यो हो शरीरलाई नियन्त्रण गर्नु । जब नयाँ विचार वा कल्पनाको कुरा आउँछ तब यो हाम्रो मस्तिष्कमा कतै बाहिरबाट आउँछ । मानव मस्तिष्कले यी विचार उत्पादन गर्दैन, न त गर्न सक्छ । ब्रह्माण्डमा कहाँबाट आउँछन्, त्यसको केन्द्र मानिसले पत्ता लगाउन सक्दैन । मानिसले आफ्नो मानसिक क्षमता अनुसार ती विचारलाई आकर्षित गर्न मात्रै सक्छ । मस्तिष्क केवल एउटा रिसिभर मात्र हो । जसले ब्रह्माण्डमा अवस्थित केन्द्रबाट निरन्तर ज्ञान, शक्ति र प्रेरणा प्राप्त गर्दछ ।

टेस्लाको यस्तो कथनले विज्ञान जगत्सँग जोडिएका मानिसलाई  सोच्न बाध्य बनायो, वास्तवमा ब्रह्माण्डमा कतै यस्तो केन्द्र रहेको छ जहाँबाट कुनै आकासीय रेडियो तरङ्ग प्रसारित हुने गर्दछ । टेस्लाले आफ्नो अर्को अन्तर्वार्तामा के पनि भनेका थिए भने जब उनी सुत्न जान्थे तब सधैँ एउटा नोटबुक र कलम आफूसँगै राख्थे । किनकि सुतेको समयमा उनको दिमागमा विचारको आवागमन भइरहन्थ्यो र सुतेका बेला ब्रह्माण्डले उनलाई धेरै कुरा सिकाउँथ्यो ।

आँखा खुल्नेबित्तिकै उनी ब्रह्माण्डले आफूलाई सुम्पेका ती विचार नोटबुकमा टिप्ने गर्दथे । त्यसपछि जब उनी त्यही विचारका साथ आफ्नो प्रयोगशालामा काम गर्थे । तब नयाँ आविष्कारले जन्म लिन्थ्यो । उनी आफ्ना सबै आविष्कारको श्रेय ब्रह्माण्डबाट प्राप्त यिनै विचारलाई दिन्थे । उनले के पनि भनेका छन् भने कति पटक त उनी विचार नोट गर्दैनथे तर बिहान उठ्दा नोटबुकका पाना नयाँ विचारले भरिएका हुन्थे । उनी निद्रामै लेख्थे अथवा विचार स्वयम् अक्षर बनेर नोटबुकमा भरिन्थे । त्यो उनलाई पनि थाहा हुँदैनथ्यो ।

३६९ नम्बरलाई ब्रह्माण्डको चाबी बताउने टेस्लालाई उनका यस्तै विचारका कारण धेरै मानिसले ‘सनकी जिनियस’ भन्थे तर टेस्लाको भनाइ आधारहीन परिकल्पना हुँदैनथे । उनका ती भनाइका पछाडि केही न केही वैज्ञानिक आधार हुन्थ्यो ।

टेस्लाको समयमा अध्ययनका लागि एमआरआई, इसिजी, एमइजी, टिएमसी जस्ता उन्नत प्रविधि थिएनन् तर अहिले छन् र केही दशकदेखि यी आधुनिक मेसिनको सहयोगमा विज्ञानले हरेक कोणबाट मस्तिष्कको अध्ययन गरिरहेको छ । ‘म्याक गोभर्न इन्स्टिच्युट फर ब्रेन रिसर्च’ मा भएको मस्तिष्क अनुसन्धानका अनुसार विचार इलेक्ट्रोकेमिकल रियाक्सनको परिणाम हो । यसका लागि मस्तिष्कले हाम्रा विभिन्न इन्द्रिय जस्तै छाला, नाक, मुख, कान, आँखा आदिबाट सङ्केत प्राप्त गर्छ र ती सङ्केत मिलिसेकेन्डमा मस्तिष्कको न्युरोन्ससम्म पुग्छन् ।

न्युरोनहरूबिचको इलेक्ट्रिकल सिग्नलको यही आदानप्रदानबाट विचारको जन्म हुन्छ । सुन्दा यो प्रक्रिया सजिलो लागे पनि वास्तवमा न्युरोन्सबिचको यो प्रक्रिया निकै जटिल प्रक्रिया हो । किनकि यो प्रक्रियामा एउटा न्युरोनले अर्को न्युरोनलाई सङ्केत पठाउँछ र प्राप्त गर्दछ । सिग्नल पठाउनका लागि न्युरोनहरूले न्युरोट्रान्समिटर भनिने एक विशेष प्रकारको केमिकल मेसेन्जर उत्पन्न गर्छन् । त्यसपछि त्यो सिग्नल प्राप्त गर्ने न्युरोनले त्यस सिग्नललाई नयाँ इलेक्ट्रिकल सिग्नलका रूपमा अर्को न्युरोनमा स्थानान्तरण गर्दछ ।

तर यति धेरै जानकारी हुँदाहुँदै पनि विज्ञानले यकिनका साथ विचार न्युरोन्सबिचको विद्युतीय र रासायनिक सङ्केतको आदानप्रदानबाट जन्मिएका हुन् भन्न सक्दैन । यो एउटा सम्भावना मात्र हो । किनकि आधुनिक प्रविधिबाट कुनै खास विचारका लागि मस्तिष्कको कुनै विशेष भाग सक्रिय हुन्छ भन्ने त थाहा हुन्छ तर कुनै विचारलाई सुरुदेखि अन्त्यसम्म अनुगमन गर्नु न्युरोसाइन्स अनुसन्धानको निकै जटिल विषय हो । यसमाथि अझै धेरै कम गर्न बाँकी छ । विज्ञानका लागि यो काम सजिलो छैन किनकि बाल्यकालदेखि नै मस्तिष्कमा रहेको ७३ प्रतिशत तरल पदार्थसहित ८६ अर्ब न्युरोन्सको एल्गोरिदम बुझ्न गह्रो छ ।

यदि एउटा न्युरोनले प्रतिसेकेन्ड एउटा सङ्केत मात्रै प्रसारित गर्दा पनि खर्बौं कनेक्सन र अर्बाैं ट्रान्समिसनबाट मस्तिष्कमा प्रशोधन भएको एउटा विचारको उत्पत्तिलाई अनुगमन गर्न सजिलो छैन । विचार मस्तिष्कमा जन्मिन्छन् भन्ने प्रमाणित गर्न विज्ञानले लामो बाटो तय गर्न बाँकी छ । टेस्लाको भनाइ कल्पना मात्र थियो । विज्ञानले अहिलेसम्म थाहा पाएको कुरा सरल शब्दमा भन्नुपर्दा यो इनपुट, प्रोसेसिङ र आउटपुट हो । यदि मस्तिष्कले इनपुटका आधारमा विचार उत्पन्न गर्छ भने ती विचार कहाँबाट आए जससँग सम्बन्धित जानकारी वा इनपुट कहिल्यै मस्तिष्कलाई दिइएकै छैन ।

जुन जानकारीको पृथ्वीमा कुनै पनि अस्तित्व नै थिएन । ती कल्पना कहाँबाट आए । जसबाट टेस्ला, अल्बर्ट आइन्स्टाइन, ग्राहम बेल र एडिसन जस्ता वैज्ञानिकले यस संसारलाई नयाँ आकार दिन महìवपूर्ण भूमिका खेले । कहाँबाट आउँछन् ती अद्वितीय गेम चेन्जर विचार, जसका बारेमा न कसैले देखेको छ न सुनेको छ न त पढेकै छ । कसरी कुनै जानकारीबिना कुनै व्यक्तिले पहिलो पटक चित्र 

बनाउन सोच्यो ?, एउटा व्यक्तिले पहिलो पटक सङ्गीत कसरी रचना ग¥यो ?, पहिलो पटक नृत्य कसरी रचना भयो ? यदि हामीले गहिरिएर सोच्ने हो भने टेस्लाको भनाइमा कुनै गहिरो सन्देश पक्कै लुकेको हुनु पर्छ ।

एक पटक सोच्नुहोस् आजको आधुनिक मानिस त्यही आदिम मानिस हो जो कुनै समय भोजनको खोजीमा जङ्गलमा नाङ्गै भाँैतारिन्थ्यो । त्यतिबेलादेखि अहिलेसम्म नयाँ विचारका माध्यमले नै मानिसले यो संसारलाई बदलेको छ । आज त्यही मानिस चन्द्रमा र मङ्गल ग्रहमा आफ्नो बस्ती बसाउने तयारीमा छ । मानिसको यो सानदार सफलताको सम्पूर्ण श्रेय ती विचारलाई जान्छ जसको कुनै पनि जानकारी, कुनै पनि इनपुट यो धर्तीमा पहिले अस्तित्वमा थिएन ।

सत्य के हो भने आजसम्म कुनै पनि वैज्ञानिक वा अनुसन्धानकर्ताले दिमागमा विचार कसरी जन्मन्छ भन्ने कुरा यकिनका साथ बताउन सकेका छैनन् । अध्यात्मसँग यो रहस्यको जवाफ त छ तर त्यहाँ कुनै प्रमाण छैन । संसारका विभिन्न धर्ममा विचार भित्री चेतना वा स्वयम्बाट आउँछन् भन्ने मानिएको छ । ती विचार राम्रा वा खराब आकासीय शक्तिबाट प्रभावित हुन सक्छन् वा केही विचार ब्रह्माण्डमा रहेको कुनै शक्तिबाट प्राप्त गर्छौं ।

सनातन धर्ममा पूर्वजन्मको कर्मको प्रभाव विचारमा पर्ने सम्भावना पनि व्यक्त गरिएको छ । कुनै आकासीय शक्तिबाट विचार प्राप्त हुने कुरा धेरै महान् व्यक्तिले पनि अनुभव र स्वीकार गरेका छन् । तीमध्ये एउटा नाम थियो महान् गणितज्ञ रामानुजन । उनले कठिनभन्दा कठिन गणितीय समस्यालाई आँखामा पट्टी बाँधेर आफ्ना कुलदेवीसँग सोधेर बताउने गर्दथे । अर्थात् उनलाई कठिन गणितीय समस्या समाधान गर्न मस्तिष्कले नभएर कुनै आकासीय शक्तिले मद्दत गर्दथ्यो ।

अल्बर्ट आइन्स्टाइन पनि प्रायः ब्रह्माण्डमा उच्च बुद्धिमत्ता र मार्गदर्शक शक्तिका बारेमा कुरा गर्थे । उनको त्यही ‘सबै कुरा ऊर्जा हो र ऊर्जा नै सबै कुरा हो’ भन्ने भनाइले टेस्लाको विचारलाई पनि समर्थन गर्दछ । क्वान्टम फिजिक्सका अनुसार ब्रह्माण्डमा रहेका हरेक चिज चाहे त्यो तरल, ग्यास वा ठोस किन नहोस्, कणहरूबाट बनेका हुन्छन् र कणहरू परमाणुबाट बनेका हुन्छन् । एवं रीतले सबै कुराको अन्तिम रूप तरङ्ग हो ।

परमाणु संरचनाले यो पदार्थ पनि हो र ऊर्जा पनि हो भन्ने बताउँछ । अर्थात् यो ब्रह्माण्डका सबै कुरा ऊर्जा हुन् र ऊर्जाले निरन्तर कम्पन गराइरहन्छ । मानिसले देख्न वा सुन्न नसक्ने हरेक ससाना कुरामा पनि एक निश्चित फ्रिक्वेन्सीको कम्पन निरन्तर भइरहेको हुन्छ । त्यस्तै विशेष प्रकारका कम्पन मानव मस्तिष्कमा पनि निरन्तर चलिरहन्छ जसलाई ब्रेन वेभ भनिन्छ ।

ब्रेन वेभ नै सायद ब्रह्माण्डको त्यो विशेष भाषा हो जसले मानिसको अवचेतन मस्तिष्कलाई राम्रोसँग बुझ्न सक्छ । त्यही भाषाको मद्दतबाट ब्रह्माण्डका सबै चिज एकअर्कासँग जोड्न सकिन्छ । सायद मानव मस्तिष्कले पनि यसैको माध्यमबाट ब्रह्माण्डसँग जोडिएर आफ्नो क्षमता अनुसार विचार आकर्षित गर्न सक्छ ।

तपाईंले पनि जीवनमा धेरै पटक अनुभव गर्नुभएको होला कहिलेकाहीँ बारम्बार प्रयास गर्दा पनि कुनै समस्याको समाधान निकाल्न सकिएको हुँदैन । जब हार खाएर त्यो समस्या छोडेर बस्नुहुन्छ तब अचानक त्यो समस्या समाधान गर्ने नयाँ विचार दिमागमा आउँछ । एक पटक सोच्नुहोस्, आखिर कहाँबाट आयो त अचानक त्यो नयाँ विचार ?, के वास्तवमै यो ब्रह्माण्डमा एउटा यस्तो केन्द्र छ जहाँ हामी सबैको मस्तिष्क कुनै अदृश्य वाइफाईसँग जोडिएको छ र हामी सबैले आफ्नो क्षमता अनुसार त्यहाँबाट विचार प्राप्त गरिरहन्छौँ ?

यस्ता सम्भावना अदृश्य छन् तर प्रमाणित छैनन् । त्यसैले यस्ता सम्भावनामा विश्वास गर्न गाह्रो पर्छ तर अदृश्य त स्याटेलाइटको माध्यमबाट हावामा ट्रान्सफर भएका ती डेटा पनि छन् जुन तपाईंको स्मार्टफोनले प्राप्त गर्दछ र तपाईंलाई विश्वभरको जानकारी दिन्छ ।

जसरी विज्ञानसँग केही सम्भावना छन् त्यसै गरी क्वान्टम फिजिक्सले पनि केही सम्भावना देखाएको छ । विज्ञानले ब्रह्माण्डीय चेतना जस्ता कुरामा विश्वास नगरे पनि विज्ञानले यस्तो कुनै शक्तिलाई पूर्ण रूपमा अस्वीकार पनि गरेको छैन । मानव विचार कहाँ उत्पन्न हुन्छन् भन्ने कुरा प्रमाणित रूपमा कसैलाई पनि थाहा छैन ।   

–युवामञ्च  

Author

अनन्त वाग्ले