कन्हैयालाल केशरी
वैशाख १० गते । सडक डिभिजन कार्यालय हेटौँडाले आइतबारदेखि वीरगन्जको गण्डकदेखि सीमावर्ती मितेरी पुलसम्म अतिक्रमण गरी मुख्य सडकको दायाँ–बायाँ २५ मिटर क्षेत्रभित्र बनेका घरटहरा भत्काएपछि सडक पेटीमा थुपारिएका सामग्री हटाउन सुरु गरिएको छ।
बिहीबार प्रकाशित ‘सडकमा थुपारिएको सामग्रीको व्यवस्थापन नहुँदा सर्वसाधारणलाई सास्ती’ शीर्षकको समाचारपछि सम्बन्धित निकायको ध्यानाकर्षण भई सडक डिभिजन कार्यालय हेटौँडा र वीरगन्ज महानगरपालिकाको समन्वय तथा सहकार्यमा सामग्री हटाउने काम सुरु गरिएको हो।
सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर मदनमोहनकुमार सिंहका अनुसार कार्यालयले एउटा टिप्पर र एउटा जेसीबी तथा वीरगन्ज महानगरपालिकाले दुई वटा टिप्पर र दुई वटा ट्याक्टर उपलब्ध गराएपछि सडक पेटीमा थुपारिएका सामग्री हटाउने काम सुरु गरिएको छ।
वीरगन्जको गण्डकदेखि मितेरी पुलसम्म करिब सात किलोमिटर दूरी रहेको छ। घरटहरा भत्काउन दुई दिन लागेको भए पनि ट्राफिक जामका कारण सडक पेटीमा थुपारिएका सामग्री हटाउन एक सातासम्म लाग्ने इन्जिनियर सिंहले बताउनुभयो।