• १० वैशाख २०८३, बिहिबार

महतोको ‘वाणिको उडान’ विमोचन

blog

पुस्तकको विमोचन गर्नुहुँदै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठसहितका सरोकारवाला । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख १० गते । बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोद्वारा लिखित ‘वाणिको उडान’ नामक पुस्तक सार्वजनिक गरिएको छ । 

बुधबार बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठसहित विभिन्न सरोकारवालाले पुस्तक विमोचन गर्नुभयो । सो अवसरमा श्रेष्ठले बोलीकै कारण मानिसको व्यक्तित्व झल्कने भन्दै सही स्थानमा सही कुरा बोल्ने मानिस नै सफल बन्ने पनि बताउनुभयो । 

जेसीज अभियानमा लाग्दा महतोले सिकेको कुरालाई पुस्तकमा उतार्दा पछिल्लो पुस्तालाई फाइदा पुगेको उहाँको भनाइ थियो । सर्लाही जिल्ला घर भए पनि महतो २० वर्षदेखि बागलुङ बजारमा बस्दै आउनु भएको छ । उहाँ आँखा उपचारको क्षेत्रमा पनि संलग्न हुनुहुन्छ । 

जेसीजमा रहेको बेला महतोको शाखा उत्कृष्ट भएको थियो । सोही आधारमा उहाँ सफल अध्यक्षको रूपमा पनि चिनिनुहुन्छ । पुस्तकका समीक्षक तथा सम्पादक प्राडा. दिनबहादुर थापाले बोल्ने कलाले मानिसलाई समाजमा चिनाउने बताउनुभयो । मानिस विवेक भएको प्राणी अझै बन्न नसकेको भन्दै अध्ययनले मात्र मानिसलाई विवेकशील बनाउने थापाको भनाइ छ । 

जेसीजका पूर्व अध्यक्ष तथा लिडर्स क्लबका अध्यक्ष पार्वती अधिकारीको अध्यक्षता, पत्रकार ताराप्रसाद शर्मा ‘स्टार’ को सञ्चालन र जेसीज वर्ष २०२६ की अध्यक्ष अन्जिला श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।