शङ्कर केसी
सल्यान, वैशाख १० गते। जिल्ला अस्पताल सल्यानमा बन्द रहेको शल्यक्रिया सेवा करिब १० दिनपछि पुनः सञ्चालनमा आएको छ। विशेषज्ञ डाक्टरको अभावमा चैत २८ गतेदेखि रोकिएको सेवा मङ्गलबारबाट सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले सूचना जारी गर्दै जानकारी गराएको हो ।
मेडिकल अधिकृत डा. सुमन यादव अस्पतालमा आएपछि सेवा पुनः सुचारु गरिएको कार्यालयले जनाएको छ । जिल्ला अस्पताल सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गाइनोकोलोजिस्टसमेत पठाउने प्रक्रिया अघि बढेको बताउनुभयो।
मेडिकल अफिसरको व्यवस्थापन भएसँगै शल्यक्रिया सेवा सुरु भएको र गाइनोकोलोजिस्ट पनि आउने सम्भावना रहेकाले त्यसपछि सेवा प्रवाह अझ सहज हुने उहाँको अपेक्षा छ ।
शल्यक्रिया सेवा बन्द हुँदा जिल्लाका बिरामीलाई समस्या भएको थियो । सामान्य शल्यक्रियाका बिरामीहरू समेत उपचारका लागि दाङ, सुर्खेत र नेपालगन्ज जान बाध्य भएका थिए।