• ९ वैशाख २०८३, बुधबार

तनहुँमा हुलाक सेवाको काम तेब्बर बढ्यो

blog

डुम्रेस्थित हुलाक कार्यालय, बन्दीपुर। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख ९ गते ।
नेपाल सरकारले सार्वजनिक गरेको शासकीय सुधारको १०० बुँदे कार्यसूचीअनुसार सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने नीतिले तनहुँमा हुलाक सेवाको कार्यचाप उल्लेख्य रूपमा वृद्धि भएको छ। कुनै समय सुस्ताउँदै गएको हुलाक सेवा अहिले राहदानी वितरण र चिठीपत्र आदानप्रदानमा सक्रिय भएपछि कामको चाप तेब्बरले बढेको हो।

बन्दीपुर गाउँपालिका–१, डुम्रेस्थित हुलाक कार्यालयका प्रमुख प्रतीक्षा अधिकारीका अनुसार पहिले दैनिक करिब ४० वटा चिठीपत्रको काम आउने गरेकामा हाल त्यो संख्या बढेर १५० सम्म पुगेको छ। उहाँले भन्नुभयो, “पहिले कामको चाप घट्दो क्रममा थियो, तर अहिले शासकीय सुधारका योजना र जनतालाई घरदैलोमै सेवा पुर्‍याउने व्यवस्थाले सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको छ।”

जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरीष उपाध्यायले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार राहदानीका लागि घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने र लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न यो अभियान प्रभावकारी बनेको छ। अभियानकै क्रममा व्यास नगरपालिका–५ की समीक्षा ओझालाई घरमै पुगेर राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गरिएको थियो।

डुम्रेमा कार्यरत हल्कारा सुनिता पोख्रेलले सेवाग्राहीको घरघरमै पुगेर सरकारी कागजात र राहदानी बुझाउँदा नागरिकमा राज्यप्रति भरोसा बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “राहदानी लगायतका संवेदनशील कागजात सुरक्षित रूपमा हातैमा पाउँदा सेवाग्राही निकै खुसी हुनुहुन्छ, यसले हामी कर्मचारीलाई पनि सेवा प्रवाहमा थप उत्साह मिलेको छ।”

अर्का हल्कारा ओमबहादुर कुमालका अनुसार डुम्रे बजार तनहुँका अतिरिक्त छिमेकी जिल्लाहरू गोरखा, लमजुङ र मनाङका लागि समेत केन्द्र भएकाले चिठीपत्रको चाप बढेको हो। विशेषगरी बैंक तथा वित्तीय संस्थाका पत्राचारको चाप पनि बढ्दै गएको उहाँले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सरकारी सेवालाई झन्झटमुक्त र नागरिकमैत्री बनाउने सरकारको नीतिअनुसार घरमै राहदानी उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने बताउनुभयो।

घरमै सेवा पाउँदा समय र पैसाको बचत हुनुका साथै खेतीपातीको समयमा सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन्। व्यास नगरपालिका–५ बरबोट निवासी शिवराज ओझाले सरकार जनताको घरदैलोमा आएको अनुभूति भएको बताउनुभयो। उहाँले भन्नुभयो, “सहज सेवा पाउँदा सरकारप्रति भरोसा बढेको छ।” छोरीको राहदानी लिन जाँदा दिनभर समय र करिब दुई सय रुपियाँ गाडी भाडा बचत भएको उहाँले जानकारी दिनुभयो।