काठमाडौँ, वैशाख १० गते । मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ प्रतियोगिता आयोजना हुने भएको छ ।
मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा आगामी जेठ ३ गते पुलुमा छायँनाथ अल्ट्रारेस आयोजना गर्न लागिएको हो ।
किम्रिबाट सुरु हुने अल्ट्रारेस छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन हुनेछ । प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गर्नेछ । प्रतियोगिता ३० किलोमिटर अल्ट्रारेसमा महिला तथा पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।
यस्तै स्थानीयका लागि पाँच किलोमिटरको छुट्टै फन रन विधा छुट्याइएको छ । प्रतियोगितामा सहभागी हुन अनलाइन तथा अफलाइन दुवै माध्यमबाट निशुल्क गर्न सकिने जनाइएको छ ।
प्रतियोगिताका विजेता खेलाडीले नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्रे लामाले बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगिताको महिला तथा पुरुषतर्फका उपाधि विजेता खेलाडीले दुई लाख रुपियाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रोले एक लाख ५० हजार, तेस्रो हुने खेलाडीले एक लाख, चौथोले ७५ हजार र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।
यसैगरी स्थानीयतर्फका विजेता खेलाडीलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुने खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि करिब ९८ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
छायाँनाथ धाम प्राकृतिक सौन्दर्य, हिमाली भू–परिवेश र धार्मिक आस्थाको संगमका रूपमा परिचित भए पनि पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावले यसको सम्भावना उजागर हुन नसकेको अवस्थामा खेलकुदका माध्यमबाट यस क्षेत्रको प्रचार गर्ने गर्ने अभियानले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष लामाले बताउनुभयो ।