शंकर केसी
सल्यान, वैशाख ११ गते । बागचौर नगरपालिका वडा नम्बर–२ चिसेखोलीमा भएको आगलागीमा १० लाख रुपियाँ नगद तथा सुनसमेत जलेर नष्ट भएको छ ।
स्थानीय चित्र बहादुर डिसीको परिवारले घर निर्माणका लागि अर्को घरमा सुरक्षित राखेको नगद र बहुमूल्य धातु एक्कासि लागेको आगोमा पूर्ण रूपमा नष्ट हुँदा यो परिवार आर्थिक सङ्कटमा परेको छ ।
पुर्खौली घर हटाएर नयाँ ढलान घर निर्माण गर्ने तयारीका क्रममा अन्यत्र राखिएको सामानमा अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।
आगलागीबाट नगद र सुनका साथै तामा र काँसका भाँडाकुँडा, अदुवाको बीउ, सिमेन्ट तथा लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको बागचौर नगरपालिकाले जनाएको छ ।
आगलागी पछि नगर प्रमुख जनकराज गौतम सहितको टोली घटनास्थलमा पुगेर स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा उहाँले पीडित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने र दीर्घकालीन सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
नगरपालिकाले तत्कालका लागि लत्ताकपडा, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराइसकेको जनाएको छ । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने यकिन क्षतिको विवरण सङ्कलन गर्ने काम जारी रहेको छ ।