• १२ वैशाख २०८३, शनिबार

नलगाडमा विद्यालय भर्ना अभियान सुरु

blog

नलगाड–३, कैनामा आयोजित विद्यालय भर्ना अभियान कार्यक्रम । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, वैशाख १२ गते ।
जाजरकोटको नलगाड नगरपालिकामा शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना अभियान सुरु गरिएको छ । अभियानको शुभारम्भ नलगाड नगरपालिका–३, कैनास्थित सूर्योदय माध्यमिक विद्यालयबाट गरिएको हो ।

भर्ना अभियानको उद्घाटन गर्दै नगर प्रमुख डम्बरबहादुर रावतले विद्यार्थीलाई शुभकामना दिँदै सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले भर्ना भएका विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्दै भविष्यमा प्रतिस्पर्धी र सक्षम बनाउनुपर्ने धारणा राख्नुभयो ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मणिराम पोखरेलले भर्ना अभियानले गाउँ–गाउँका सबै बालबालिकालाई विद्यालयसम्म ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नलगाड नगरपालिकाले शैक्षिक क्षेत्रमा विभिन्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिरहेको र अब छाना रहित विद्यालयको समस्या समाधानतर्फ पनि काम भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रम अधिकृत कृष्ण तिरुवाले कुनै पनि विद्यार्थी शिक्षाको अधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले अभिभावकमा स्पष्ट सूचना पुर्‍याउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला शाखा जाजरकोटले अभियान आयोजना गरेको हो । कार्यक्रममा नलगाड नगरपालिका–३ वडा कार्यालय र सूर्योदय माध्यमिक विद्यालय, कैनालाई सम्मान गरिएको थियो ।