जयकृष्ण यादव
इनरुवा, वैशाख १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदमा निर्वाचित हुनुभएका सिर्जना श्रेष्ठले राजनीतिकमा केही गरौँ भनी लागेको बताउनुभएको छ । व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेर २२ वर्षदेखि समाजसेवा तथा व्यवसायीमा रहनुभएका उहाँले देशको विकास र समृद्धिको नारा र भाषणले नभई केही नीतिगत सुधारको आवश्यकता देखिएको बताउनुभयो ।
व्यवसायका साथै सामाजिक सेवामा पनि सक्रिय रहनुभएका उहाँले काठमाडौँ लायन्स क्लबको सव्रिmय सदस्यतामार्फत विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । आँखा तथा दन्त शिविर, रक्तदान कार्यक्रम, वृक्षरोपण अभियान तथा बाढीपीडितलाई सहयोग गर्ने जस्ता कार्यमा सहभागिता जनाउँदै आउनुभएका उहाँले महिला सशक्तीकरणकी प्रबल समर्थक पनि हुनुहुन्छ । सिप विकास तालिम तथा रोजगारीपूर्व तयारी कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । उद्योगसम्बन्धी विभिन्न कार्यक्रममा पनि उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । उहाँले महिलालाई सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्रोत्साहन गर्नु, महिलालाई एउटै प्लेटफर्ममा ल्याउन, क्यान महासङ्घमार्फत नेपालका सातै प्रदेशमा डिजिटल साक्षरता, साइबर सुरक्षा तथा एआईसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनमा महìवपूर्ण योगदान गर्नुभएको छ ।
विद्यार्थी, पेसाकर्मी तथा सरकारी अधिकारीलाई आइसिटीको प्रभावबारे जनचेतना फैलाउन विभिन्न स्वयंसेवी संस्थामार्फत सहभागिता, उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घका तर्फबाट दिगो विकासमा योगदान, व्यक्तिगत डेटा सुरक्षा नीतिमा सहभागिता र मानव संसाधन विकास कार्यक्रममा महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । संस्थागत भूमिकामा कम्प्युटर एसोसिएसन नेपाल प्रबन्ध निर्देशक फिनिक्स ट्रेडिङ रहेर काम गर्नुभएको छ ।
त्यस्तै उहाँले छोरी उदय फोरमको सल्लाहकार, सिप विकास तथा तालिम समिति र प्रोजेक्ट तथा इभेन्ट विकास समिति, अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँले सन् १९९८ मा सेल्स प्रतिनिधिका रूपमा करियर सुरु गर्नुभएको थियो । त्यसपछि विभिन्न नेतृत्वदायी पद समाल्दै आउनुभएको छ । उहाँले सन् २००७ मा मास्टर्स डिग्री हासिल गर्नुभएको हो । हाल उहाँ फिनिक्स ट्रेडिङकी प्रबन्ध निर्देशक हुनुहुन्छ । यसअघि उहाँले सागर ग्रुप अफ इन्डस्ट्रिजमा निर्देशकका रूपमा पनि काम गर्नुभएको थियो । आफूले गरेको समाजसेवा तथा व्यवसायमा गरेको योगदानको अनुभवले राज्यको नीति निर्माणमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
उहाँले डिजिटलमैत्री र सूचना प्रविधिमैत्री देश बनाउने र त्यसको माध्यमबाट डिजिटल सुशासनका लागि वकालत गर्न र कार्यान्वयनमा जोड दिनेसमेत बताउँदै आउनुभएको छ । उहाँले जनतालाई सेवा प्रवाह र आर्थिक वृद्धिका लागि सरकारी क्षेत्रको विकल्पका रूपमा निजी क्षेत्रको बढ्दो भूमिका र प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
साथै उपभोक्ता संरक्षणको पक्षमा लगानीमैत्री वातावरण निर्माणका लागि पहल गर्न सदनमा बोल्ने, अर्थतन्त्र देशको बलियो आधार भएकाले यसको सुधारमा ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभयो । इटहरीलाई कोशी प्रदेशकै एउटा व्यापारिक केन्द्र बनाउन पनि पहल गर्ने उहाँले बताउनुभयो ।