• १२ वैशाख २०८३, शनिबार

सङ्घर्षले चुमेको सफलता

blog

मानिसले जीवनमा भोगेका विभिन्न पाटा नै कथा उपन्यास जस्ता आख्यानात्म कृति बन्न पुग्छ । जन्मदेखि मृत्युपर्यन्त मानिसले भोगेका उकालीओराली व्यतीत गरेका तितामिठा क्षण नै कथा उपन्यासको मूल खजाना हो । जीवनका अनुभूति लिपिबद्ध गर्दा त्यसले कृतिको स्वरूप लिन पुग्छ । जीवनका भोगाइ कति लेखिन्छ । कतिले त्यसलाई लिखित रूपमा प्रस्तुत नगरे पनि हरेक मानिसको भोगाइ आफैँमा एउटा सत्यकथा हो । प्रत्येक मानिसले जीवन व्यतीत गर्दा भोग्ने परिस्थिति पृथक् पृथक् हुने गर्छ । दुःख सङ्घर्ष गरी कठिन परिस्थितिको भोगाइबाट जिएको व्यक्तिले नै वास्तविक जीवन बुझ्न सक्छ । आफूले निर्धारण गरेको लक्ष्यसम्म पुग्न गरेको परिश्रम, लगाव जस्ता विषयलाई प्रस्ट रूपमा देखाउन खोजिएको आख्यानात्मक कृति हो– पुर्पुरो । लेखक पार्वतीले आफ्नो जीवनमा आफू स्वयम्ले भोगेका घटनालाई रत्तिभर कल्पनाको लेप नलगाई प्रस्तुत गर्न सफल हुनुभएको छ । यो नै उहाँको ठुलो आँट मान्न सकिन्छ । कठिन परिस्थितिका बिच आफ्नो लक्ष्यलाई केन्द्रमा राखेर अघि बढ्ने व्यक्तिले नै सफलता चुम्न सक्छ भन्ने तथ्यको स्पष्ट दृष्टान्त यहाँ पाउन सकिन्छ ।

लेखक तिवारीलाई बाल्यका देखि नै विपत्ति र कष्टले च्यापि रहेको हुन्छ तर पनि आफूभित्रको दृढ विश्वास र अटल साहसले असल मार्ग पहिचानमा टेवा पु-याएको देखिन्छ । बाल्यकालदेखि यौवन अवस्थासम्म जीवनले भोगेका पीडाहरू निकै कष्टकर छन । घर, परिवार, छरछिमेक समाजमा कतै पनि सुख र शान्तिको सास फेर्न पाएकी छैन तर पनि आफूभित्रको अदम्य साहस र आँटलाई कुनै परिस्थितिमा ओइलिन दिनुभएको छैन । एक दिन अवश्य रमणीय र आनन्दको श्वास फेर्ने मनोबलसाथ कठिन अवस्थासँग जुधेको पाइन्छ । निम्नवर्गीय विपन्न परिवार भएकाले कठिन यसै पनि थियो । पढाइलेखाइमा अब्बल हुँदाहुँदै पनि विपन्नताको जालोभित्र परेको जीवनले उचित मार्ग पहिल्याउन निकै जोखिमपूर्ण पहाडको यात्रा गर्नु परेको देखिन्छ । बाल्यकालमा उचित पालन पोषण र बाबुको संरक्षणबाट विमुख बालिकाले आफ्नै लगनशीलता परिश्रम र सङ्घर्षले सफलता चुमेको यथार्थ परिघटनाको वर्णन हो– यो कृति । पुस्तक पढ्दै गर्दा पाठकको मन भारी हुन्छ । पार्वतीप्रति दया र करुणाको भाव सिर्जना भई गला अवरुद्ध हुन पुग्छ । जीवनका आरोहअवरोह, दुःख पीडाका कठिन परिस्थितिको चित्रण मर्मस्पर्शी ढङ्गले गरिएको छ । अझै पनि सडक बालबालिकाप्रति हाम्रो समाजले कस्तो नजर राख्छ भन्ने वास्तविकतालाई छर्लङ्ग पारिएको छ । के कति कारणले बालबालिका सडकमा पुगे भन्ने कुराको हेक्का नपु¥याई उनीहरूप्रति घृणित व्यवहार र बव्रmदृष्टि नराख्न पनि नेपाली समाजलाई आग्रह गरिएको देखिन्छ । यस्ता बालबालिकाप्रति राज्यको विशेष ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई जोड दिएको पाइन्छ ।

नेपाल गुडविभ फाउन्ड्ेसनको सहयोगमा सञ्चालित पुर्नस्थापना केन्द्रसम्म पुग्नु नै उनका निमित्त महìवपूर्ण घटना बन्न पुग्छ । पार्वतीलाई यही संस्थाको आर्थिक सहयोगमा आफ्नो कक्षा ८ सम्मको औपचारिक शिक्षा प्राप्त गर्ने अवसर मिल्छ । माओवादी द्वन्द्व र राजदरबार हत्याकाण्डले छात्रवासमा साना बालबालिकालाई पनि डर, त्रास र भयको स्थिति सिर्जना भएको हुन्छ । जताततै बम गोली र बारुदका आवाजले बाल मस्तिष्कमा परेको नराम्रो प्रभाव टुलुटुलु हेर्न विवश छिन् आख्यानकी केन्द्रीय पात्र पार्वती । समाचारपत्र, रेडियोलगायत सञ्चार माध्यमबाट मान्छे मारिएका, कुटपिट जस्ता नकारात्मक समाचार सुन्दा देशमा के भइरहेछ र यो के कारण हो ? त्यसका बारेमा अनभिज्ञ छ उहाँको मथिङ्गल । द्वन्द्वले रुमलिएको देश पार्वती बस्ने छात्रावासमा त्यसको नराम्रो प्रभाव पर्न जान्छ । अब छात्रावासमा बसेर पढ्ने अवसरबाट वञ्चित हुन पुग्छिन् । घर परिवारको सम्पर्कबाट विछोड भएकी केवल छात्रावासको बसाइँ नै उहाँका निमित्त पारिवारिक वातावरणको बनेको थियो । छात्रावासको पारिवारिक डोरी एकाएक चुँडिन पुग्छ । पुनः जीवन न घरको न घाटको भई दोसाँधको स्थितिमा पुग्न थाल्छ । यस्तो अवस्थामा कत्ति विचलित नभई उज्यालो भविष्यको खोजीमा निरन्तर भौतारिँदै हिँडेको पाइन्छ । 

ठुलो वृक्षको छहारी बनी विदेशी स्वयंसेवक इयन वुइकेनसले ‍ओत दिएको, जसले गर्दा विद्यालयको कक्षा १० सम्मको शैक्षिक यात्राले सार्थकता पाएको आख्यानमा उल्लेख छ । आख्यान कृति पुर्पुरोमा मानवीय धर्म निर्वाह गरी मानवतावादी दृष्टिकोणलाई उजागर गर्न खोजेको देखिन्छ । उनकै साथसहयोग र हौसलाले जीवनको गोरेटोले लक्ष्य तय गर्न सफल भएको छ । लेखक स्वयम् कथाकी नायिकाका रूपमा उपस्थित भएको पुर्पुरोमा उत्साह, उमङ्ग र प्रेरणाको स्रोतका रूपमा, समस्याको पोयो फुकाइदिने सहयोगी पात्र बनेका छन्– इयन वुइकेनस । मानवताका पक्षधर असल चरित्रका रूपमा प्रस्तुत भएका छन् उनी । पढ्नका लागि एउटी बालिकाले एकल रूपमा गरेको कहालीलाग्दो प्रयत्न कति पीडादायिक छ । बिनासङ्घर्ष कुनै उपलब्धि हात पार्न सकिँदैन । मानवीय जीवन भन्नु नै सङ्घर्ष र परिश्रमको उपलब्धि हो भन्ने कुरालाई पुष्टि गर्न खोजिएको छ । जीर्ण पारिवारिक अवस्था, गरिबीले निम्त्याउने अभाव, आधारभूत आवश्यकता परिपूर्ति गर्न नसक्दा भएको पारिवारिक विखण्ड जस्ता विभिन्न परिस्थितिको सिकार भई सडक बालबालिका बन्न पुगेका हुनाले उनीहरूलाई हेला र घृणाको भावले नहेर्न नेपाली समाजलाई आग्रह गरिएको छ । उचित अवसर पाएको खण्डमा उनीहरूको जीवन पनि अगाडि बढ्न सक्छ भन्ने दृष्टान्तको सँगालो हो– यो पुस्तक । 

नेपाली समाजमा विद्यमान जातीय र वर्गीय विभेदको धारलाई स्पष्ट ढङ्गले औँल्याइएको छ । क्षमता, योग्यता, शालीनता र धैर्य जस्ता गुणले विभूषित छन्– लेखक पार्वती । विद्यालयमा अन्य समुदायबाट आएका साथीसङ्गीले सडक बालिकाको संज्ञा दिन्छन् । उनीहरू समीपमा बस्नसमेत सङ्कोच मान्छन् । कतिपय सन्दर्भमा मित्रवत् व्यवहार पाउन पनि सक्दिनन् । कमजोर धरातल सडक पेटीको बास उनको चाहना नभएर नियति थियो । यो किन बुझ्दैन समाज । समाजमा विभिन्न समस्याका कारण छन् र तिनको निराकरणका लागि राज्यले उचित कदम चाल्नुपर्ने तथ्यलाई उपन्यासमा औँल्याइएको छ । 

भोको पेट र नाङ्गो शरीरको व्यथालाई नजिकबाट छाम्नुभएको छ पार्वतीले । त्यही आफ्ना अनुभव, अनुभूतिलाई उपन्यासमा प्रशस्तै उभ्याउन सफल हुनुभएको छ– पार्वती । 

समय कति बलवान् हुन्छ । त्यही समय हो पार्वतीलाई एक छाक टार्न निकै सकस थियो । अहिले परिस्थिति बदलियो समयले कोल्टे फे-यो । बैङ्कमा अधिकृत पदको जागिर छ । आफ्नै सुन्दर संसार छ । के खाऊँ के लगाऊँ भन्ने समस्याले विश्राम लिएको छ । हुँदा खानेलाई खाना र नानाले गर्जो टार्न सक्ने हुनुभएको छ । समयले सबै कुरा दियो अनि सिकायो पनि । दुःखमा नआत्तिनु सुखमा नमात्तिनु भन्ने उक्तिले लेखिकाकै जीवनमा सार्थकता पाएको छ । सबै चिजको मूल्य बोध गर्ने क्षमताको पनि विकास भयो । आफ्नो पुर्पुरोमा भाग्य लेख्ने कलमको मसी आफैँ बन्नुभएको छ– पार्वती ।