खेतमा धानका बाला लहलह थिए । कान्लाहरू कोदोका थुङ्गाले भरिभराउ थियो । ढिकतिर हलुवावेद रातामे देखिन्थ्यो । सिँचाइ नभएको ठाउँ कतै थिएन । पहाडको ठाडो बाटो कालोपत्रेले टिलिक्क टल्किएको थियो । हराभरा मौसम, सफा सडक देख्दा लाग्थ्योँ आजभोलि गाउँमै बस्नु पर्छ । रुखका हाँगामा चराहरू चिरबिर चिरबिर गरिरहेका थिए । आआफ्नो प्रजातिको निजी भाषा र आवाजमा उनीहरू रमाइरहेका थिए ।
सबैतिर नियालेर बमबहादुरले भन्यो, “पहाड भएर के भयो र यातायात, सञ्चार, शिक्षा र स्वास्थ्य गाउँमा पुग्यो भने यो देश के स्वर्गभन्दा कम छ र ?”
“तिमीले देख्दा स्वर्ग लाग्ने ठाउँ प्राकृतिक सुन्दरतामा मात्र के स्वर्गानुभूति सम्भव छ ?”– मैले प्रतिप्रश्न गरेँ ।
“हो सम्भव छ । स्वर्गको आवाज सुन्छौ ? हेलो.. !” उसले ठुलैडाको निकालेर चिच्यायो ।
आवाज पहाडको कन्दरामा ठोक्किएर कानसम्म आइपुग्दा अनौठो लाग्दो रहेछ । ऐनामा अनुहार हेरे जस्तै आवाज हेर्न पहाडमा चिच्याउनु पर्दोरहेछ । ती पहाडहरू सङ्गीत र आवाजका प्रतिध्वनि देखाउने ऐना रहेछन् ।
हामी दुवै आवाज ठोक्काउने र सुन्ने खेल खेल्न थाल्यौँ । तीन जना मानिस दौडँदै हामी उभिएको ठाउँनिर आए । उनीहरूमध्येको कालोवर्णको मान्छेले जङ्गिँदै भन्यो, “के तातो भौरो खान चिच्याएको ? कालले कुत्कुतायो कि क्या हो ? डाँडामा आएर हाइहुही किन गरेको ? के शान्तसँग मर्न नदिने ?”
त्यो मान्छेको कुराले हामीलाई आश्चर्य बनायो । हामी अक्क न बक्क भयौँ । हाम्रो अगाडि उभिएको मानिसको मुहारमा व्रmोधका ज्वाला दन्किरहेको प्रस्ट देखिन्थ्यो । उसले फेरि भन्यो, “शान्तसँग मर्न पनि नदिने सिलबरको डेक्ची कुच्चाए जस्तै तिमीहरूको अनुहार कुच्चाइदिउँ ?”
उसले झम्टन खोज्यो । हामीलाई झम्टन लागेको देखेर सँगै आएका दुई जनाले उसको पाखुरामा समात्यौँ । ऊ फुत्कन कोसिस गर्दै भन्यो, “छोड्दे, यी फटाहाहरूलाई सिध्याउँछु अनि म पनि सिद्धिन्छु । साला यो देशमा न त बाँच्न दिन्छन् । न त आनन्दले मर्न नै दिन्छन् । मर्नु पर्दा हामी मरिदिनुपर्ने ! बाँच्न यिनीहरूले एक्लै बाँच्नु पर्ने ! भतुवाहरू !”
“माफ गर्नुहोला । ऊ अर्जुनबहादुर खत्री हो । एक महिनाअगाडि उसले आफ्नो छोरालाई विदेश उडाएको थियो । छोरो विदेश उडेसँगै उसको एउटा तार उड्यो । बेला बेलामा यस्तै गर्छ । कहिले डोरी लिएर हिँड्छ । कहिले भोटेकोशीमा हामफाल्छु भन्छ, बचाउन गाह्रो भइसक्यो । यो बिरामी छ । यसको कुरालाई अन्यथा नलिनुहोला । कहाँबाट को पाल्नुभो कुन्नि”–सँगै उभिएका पुरुषले भने ।
“म वसन्त, यो मेरो साथी बमे हामी काठमाडौँबाट” मैले दुवै जनाको परिचय दिए ।
“मेरो नाम कुलबहादुर तामाङ हो । यो ग्याल्जेन लामा हो । यो मुख बोल्न सक्दैन तर कान राम्ररी सुन्न सक्छ । उसले सबै महसुस गर्न सक्छ तर केही कुरा भन्नु प¥यो भने हातको इसारा गर्नु पर्छ । तागतको कुरा गर्दा यसले सातगाउँलाई जित्छ तर बोली छैन ।” कुलबहादुरले आफू र आफूसँगैका मानिसहरूको परिचय दिए ।
मैले सोधँे, “अनि अर्जुनजीका घरमा को को हुनुहुन्छ ?”
कुलबहादुरले ओठ लेप्राउँदै भने, “को हुनु नि ! उसकी श्रीमती छिन् । उनी पनि श्रीमान्को अवस्था बिग्रिएपछि रुँदारुँदै कहिले मर्ने हुन् थाहा छैन ।”
“अनि छोराछोरी दाजुभाइ ?”
“दाजुभाइ त थिएनन् तर छोराछोरी थिए । छोरी स्कुल पढ्दापढ्दै स्कुलको मास्टरसँगै प्रेम गरेकी भन्थे । मास्टरलाई स्कुलबाट निकालेपछि ती दुवै जनाले गाउँ नै छोडे । अहिले कहाँ छन् पत्तो छैन । छोरा एक महिना अगाडि कतार उड्यो । छोरालाई उडाएर फर्केपछि यता यसको अवस्था दिनानुदिन बिग्रँदै गइरहेको छ ।”
“उपचारमा लानुभएन ?”
“कसले उपचार गर्ने ? कहाँ गर्ने ? अनि उसलाई उपचार गर्दा लाग्ने पैसा कसले तिर्ने ?” उनले व्यथा बताए ।
“त्यसो भनेर कहाँ हुन्छ । उपचार त गर्नु प¥यो नि ! सबै मिलेर ।” मैले मुफतमा उपदेश दिए ।
“तपाईंले भनेको ठिकै हो तर गाउँमा कतै एउटा युवा देख्नुभयो ?”–उनले प्रतिप्रश्न गरे ।
मैले भनेँ, “अहँ !”
उनले फेरि प्रश्न गरे, “जब यो गाउँमा केही गरौँ भन्ने मान्छे नै कोही हुँदैन तब कसले गर्छ सहयोग । तपार्इंहरू जस्ता एकदिन घुम्न आउने मान्छेले गरेको सहयोगले कतिन्जेल चल्ला र खै !” उनको अभिव्यक्तिमा चरम निराशा झल्किएको थियो ।
बमबहादुरले सान्त्वना दिने मनसायले भन्यो, “तपाईंहरू अगाडि बढ्नुहोस् । सहयोग गर्ने हात हजार भेटिन्छन् । स्थानीय सरकार छ । प्रदेश सरकार छ । सङ्घीय सरकार जसले पनि गरिहाल्छ नि !” बमबहादुरले समस्या समाधानको बाटो देखाउँदै थियो । नबोल्ने मान्छेले बमबहादुरको पिठिउँमा लात्ताले हान्यो । बमबहादुर बाटो मुनतिर धुनमुनियो ।
मैले रिसाउँदै भने, “के गरेको यो ? अतिथि सत्कारको तरिका गजब रहेछ !”
कुलबहादुरले मलिन मुख लगाउँदै भने, “मैले अघि भनेको थिएँ ऊ बोल्न सक्दैन तर सबै सुन्न सक्छ । उहाँले सरकारका कुरा गर्नुभयो । त्यसैले लात भेट्नुभयो । जनता मुख नबोले पनि महसुस गरेका छन्, कहाँ छ र सरकार ? एउटा राजा हटाएर राजैराजा अनि राज्यको सम्पत्ति जति सबै खाजा । जनताको मलामी बनेको छ त्यो सिंहदरबार ।”
मैले बमबहादुरलाई उठाएर सोधेँ, “तिमीलाई ठिक छ ।”
बमबहादुर नबोलेरै मुन्टोको इसाराले आफू ठिकै भएको जनाउँ दियो ।
हिँड्नै लाग्दा एक जना वृद्ध महिला टुप्लुक्क अगाडि आइपुगिन् । उनले मुखमा हेर्दै भने, “वसन्त सर होइन ?”
म अलमल्ल परेँ । मैले सम्झन कोसिस गरेँ । अनुमान गर्न खोजेँ तर ठम्माउन सकिन । मैले सशङ्कित हुँदै भने, “अनि आमा मैले त चिनिन नि !”
“ए बाबु ! तपाईंहरू कहाँ चिन्नुहुन्छ र ? सहरमा बस्ने मान्छेले गाउँका मान्छे चिन्ने, सरकारमा बस्नेले मतदाता चिन्ने भए यो गाउँ किन चिहान बन्थ्यो होला र !”
ती महिलाका पीडामिश्रित शब्दका छुराले मेरो मस्तिष्कमा छोयो । सोँचे काम गर्ने क्रममा कसैलाई मर्का पारिहाल्दो रहेछु कि ? अन्जानमा कतै केही गरे हुँला ! व्यावसायिक धर्म निर्वाह गर्दा । म तर्किन खोजे । वृद्धा झनै मेरो नजिक आएर आफ्नो मुहार देखाउँदै भन्नुभयो, “अब चिन्नुभयो । म तपाईंलाई लोक सेवा आयोगको सेवासम्बन्धी विषय पढाउने शिक्षिका रत्ना ।”
म झसङ्ग भएँ । त्यतिबेलाकी सुन्दरी गुरुआमा रत्ना र समयले मुहारमा ल्याएका बदलावका डोबहरू बोकेर पहाडमा हिँडिरहेकी रत्ना– धर्तीका दुई ध्रुव जस्तै । मैले दुवै हात जोडेर प्रणाम गरे । उहाँले प्रणाम फर्काउँदै प्रश्न गर्नुभयो, “किन आउनुभएको यता ?”
“सहरको प्रदूषणले आजित भएर ग्रामीण स्वच्छ हावापानीमा केही समय घुमौँ भनेर आएको, हजुरसँग पनि भेट भयो । भ्रमण सार्थक भयो । अनि हजुरलाई कस्तो छ कहिले काठमाडौँ छोड्नुभयो ?” मैले थोरै मुस्काएर जवाफसहित प्रश्न सोधेँ ।
मेरा प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “म त यता आएको सात वर्ष भयो । छोराछोरी विदेश गएपछि सहरमा बस्न सकिन । बुवाको स्वर्गारोहणपश्चात् म पनि माइतीको जायजेथा समाल्न गाउँ फर्किएँ ।”
हामी सुनिरह्यौँ । उहाँले गाउँले जीवनबारे भन्दै जानुभयो । गाउँ फर्केर के गर्नु ग्रामीण जीवन हेर्दा जति आनन्ददायक देखिन्छ भोग्दा त्यति सहज छैन रहेछ । उकालो ओरालो मात्र होइन यी बारीमा अभावका डल्ला पनि फल्दा रहेछन् । हेर्नुस् न खुसी हराएको २०७२ सालबाट नै हो । संविधान आयो । व्यवस्था आयो । सिंहदरबार पनि आयो । अनि समयले गाउँघरमा भएका अलि अलि आशा पनि चपायो । हामी गाउँमा बस्नेले या त सन्तानको खुसीको घाँटी रेट्नु पर्छ । या त आवश्यकता पूर्ति गर्न सन्तानलाई बेच्नु पर्छ । साउदी, कतार, मलेसिया, जापान, क्यानडा आदि हाम्रो व्रmयशक्ति अनुसारका देशहरूमा सन्तान बेच्नु पर्छ । उहाँले भक्कानिएर लामो स्वास फेर्नुभयो ।
म जवाफहीन हेरिरहँे । व्यवस्था र अवस्थाका कुरा भोगेर एँेजेरु उमारेकी रत्ना गुरुआमाले हामीलाई जाउँ, हाम्रोमा चिया खाउँ पनि भन्नुभएन । उहाँ त्यसो भन्ने मान्छे होइन तर परिस्थितिले मान्छेलाई कहाँ पु¥याउँदो रहेछ । सोच्दा सोच्दै म अचम्मित भएँ ।
हामी बटुवा बाटोबाट छुट्टिन खोज्दै भन्यौँ, “हुन्छ म्याम । फेरि भेटौला ।”
रत्ना म्यामले सहजै भन्नुभयो, “हुन्छ जाउ । कसलाई भेटेर के हुने हो र ? जे हुनु छ, भइहाल्छ । कुनै दिन अरूलाई उज्यालो बाँडेकी शिक्षिका हिजोआज आफँै अँध्यारोमा फसिछे भनेर नभन्नु । देश डुब्दा हामी सबै डुब्छौँ वसन्त । त्यो बुझ्न तिम्रा गाला चाउरी पर्नु पर्छ ।” उहाँ गनगन गर्दै अगाडि बढ्नुभयो ।
हामीले गाडी फर्काएर आएको देखेर कुलबहादुर नजिकै आएर भन्न थाले–मनमा गुम्सिएका कुरा । हामीलाई माफी दिनुहोला । हामी व्रmूर र असभ्य थिएनौँ तर के गर्नु देशको शिक्षा प्रणालीले गाउँघर खोव्रmो बनायो । विदेश नीति र राजनीतिले गाउँसहर टुहुरा भए । जहाँ परिश्रमको उचित मूल्य, हैसियत अनुसारको इज्जत र सम्भावित भविष्य र रोजगारी हुँदैन । त्यहाँ हराभरा खेतका गह्रा र प्राकृतिक सुन्दरता फिक्का हुन्छन् । हामी त प्रविधि प्रयोग गर्न नजान्दा विश्व बजारमा हराएका छौँ । बाउ बाजेको हाडोभाँडो र भूत बस्ने डाँडो छोडेका छैनौँ तर अबको पुस्ताले यो डाँडो कुर्ने छैनन् र हाडोभाडो खोज्ने छैनन् । सुनिश्चितता र सुगमता खोज्दा रहेछन् सबै सबैले । हिजोआज गाउँ रितिएका छन् । हेर्नुहोस् अबको १५ वर्ष पछि सहर पनि रितिने छ । र त्यतिबेला तपाईं हामी लौरो टेक्ने भइसक्ने छौँ । आफ्ना सन्तति देशमा राख्न नसकेर अर्जुनले झैँ हामी सबैले रेटिनुपर्ने दिन नजिकै छ ।
कुलबहादुरको कुरा सुनेपछि मैले सशङ्कित हुँदै भनेँ, “अघिको बिरामी अर्जुनजी ?”
मेरो प्रश्नको उत्तरमा उनले भने, “होइन होइन यहाँ धेरै अर्जुन छन् । अघिको अर्जुनले कुरुक्षेत्र लड्दै छन् । ती पनि अहिले लडेका अर्जुन जस्तै लड्ने होलान् तर लडिसकेका अर्जुन अर्का अर्जुन हुन् । उनको पनि कथा त्यस्तै छ । यहाँ बस्ने हरेक अर्जुनहरू सन्ततिहरूलाई विदेशमा बेच्न बाध्य छन् । सन्तानलाई विदेश पठाएर पुत्र वियोगमा राजा जनक झैँ, सन्ततिको वियोगमा गाउँघरका अर्जुनहरू संसार छोड्न बाध्य छन् ।”
हामी कुरा गर्दागर्दै एउटा वृद्धले शङ्ख फुके । कुलबहादुर खुट्टा खोच्चाउँदै लास नजिक पुगे र लासमाथि फुल चढाए । हामीले मनमनै मृतकमाथि श्रद्धाञ्जलीका भाव व्यक्त ग-यौँ । स्वर्गीय आनन्दानुभूति हुने ठाउँमा केटाकेटी र वृद्धवृद्धा मात्रै देख्दा प्रकृतिको स्वर्ग पातालतिर भाँसिँदै गरेको नमिठो दृश्य मन मस्तिष्कमा सजाएर भारी मन लिएर फर्कियौँ ।