इजरायल, वैशाख १२ गते । युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध वा शुल्क बिना तत्काल पुनः खोलिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले यसलाई विश्वव्यापी अर्थतन्त्र र आपूर्ति प्रणालीका लागि अत्यन्त महत्त्वपूर्ण विषयका रूपमा उल्लेख गर्नुभयो ।
यसैबिच, संयुक्त राज्य अमेरिका र इरानका अधिकारीहरू पाकिस्तानतर्फ प्रस्थान गरिरहेको अवस्थामा विश्व वित्तीय बजारमा सकारात्मक प्रभाव देखिएको छ । कम्पनीको राम्रो नाफा विवरणपछि वॉल स्ट्रिटका प्रमुख शेयर सूचकाङ्क नयाँ रेकर्ड स्तरमा बन्द भएका छन् । सुरक्षा अवस्थाको सन्दर्भमा, संयुक्त राज्य अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ गर्दै तेस्रो विमानवाहक युद्धपोत पनि तैनाथ गरेको छ ।
कूटनीतिक प्रयासतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबिच दीर्घकालीन शान्तिको सम्भावनाबारे आशावादी विचार व्यक्त गर्नुभएको छ । उहाँले हालैका भेटवार्तापछि त्रिपक्षीय संवादको सम्भावना रहेको सङ्केत गर्नुभयो । यद्यपि, इजरायल र लेबनान दशकौदेखि औपचारिक रूपमा द्वन्द्वको अवस्थामा रहेका छन् । तर हिजबुल्लाहका संसदीय समूह प्रमुख मोहम्मद रादले लेबनान सरकारलाई इजरायलसँग प्रत्यक्ष वार्ताबाट पछि हट्न आग्रह गर्दै प्रस्तावित शान्ति सम्झौताले राष्ट्रिय सहमति नपाउने टिप्पणी गर्नुभयो ।
यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाहले शान्ति प्रक्रियामा अवरोध पुर्याउन खोजिरहेको आरोप लगाउँदै इजरायल लेबनानसँग ऐतिहासिक शान्ति स्थापना गर्ने दिशामा अघि बढिरहेको बताउनुभयो । दक्षिण लेबनानको टायर सहरमा भने युद्धको प्रभाव अझै गहिरो देखिएको छ । इजरायली हवाई आक्रमणमा ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको सम्झनाका वस्तु खोज्दै एक व्यक्तिले आफ्नो जीवन अत्यन्त कठिन बनेको र लामो समयदेखि निद्रा नपरेको भावुकरूपमा बताएका छन् । रासस/एएफपी