• १२ वैशाख २०८३, शनिबार

कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार तारकेश्वर नगरपालिका( मनमैजुमा रास्वपा, तारकेश्वर) १० ले आयोजना गरेको भेटघाट कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।तस्बिर : हरिराम भेटुवाल

काठमाडौँ, वैशाख १२ गते । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका-१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उहाँले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागु गर्न आफूहरू लागि परेको बताउनुभयो ।

“प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागु गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौँ”, कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री खनालले भन्नुभयो ।

फरक प्रसङ्गमा सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा काम गरिरहेको उहाँले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुसार सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको उहाँले बताउनुभयो । रासस