हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख १२ गते । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, मराङकी याङजिन गुरूङले घरबास (होमस्टे) तालिम लिनुभएको छ ।
गाउँपालिका र अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय लोमान्थाङले सञ्चालन गरेको आयआर्जन र स्वरोजगारका लागि लक्षित विभिन्न तालिममा गुरूङले आफ्नो घरायसी कामलाई छोडेर सक्रिय सहभागिता जनाउने गर्नुभएको छ ।
विगतमा घरबास सञ्चालन गरे पनि नियमित नहुदाँ उपल्लो मुस्ताङ आउने पर्यटक चराङ हुदैं सिधै लोमान्थाङ जाने गरेकाले पर्यटकलाई प्राचिन सभ्यता झल्किने मराङ बस्तीमा आर्कषित गर्न पुन:मापदण्ड अनुसारको घरबास कार्यक्रम सञ्चालनमा स्थानीय महिलाले सक्रियता देखाएका छन् ।
होमस्टेको अवधारणा अनुसार पाहुनाको स्वागत र बिदाइ, घर कोठाको सजावट, खाना र खाजाका परिकारको तालिम लगायतका विषयमा प्रयोगात्मक अभ्यासले थप सहज भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षण क्षेत्र व्यवस्थापन समिति चराङका अध्यक्ष रिजाङ आङग्या गुरूङले बताउनुभयो । अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘तालिमले स्थानीयमा आत्मबल र उत्साह जागेको छ,घरबासमा आउने पर्यटकबाट प्रवर्धनमा समेत सघाउँछ ।’’
अध्यक्ष गुरूङका अनुसार घरबासमा आउने पर्यटकलाई स्थानीय गुम्बा, प्राचिन गुफा,जीवनशैली, पूराना घरहरूको अवलोकन सहित स्थानीय परिकारहरू फापरको रोटी, ढिडो, तरकारी सहित स्थानीय विभिन्न परिकारले स्वागत गरिने छ । घरबासका लागि गाउँपालिका र एक्यापले विभिन्न सहयोग गरेको छ । पहिलो चरणमा करिब ३० पर्यटकको क्षमतामा सञ्चालन गरिने घरबासलाई पर्यटकको आगमन अनुसार विस्तार गरिने छ ।
एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले घरबासमा आउने पर्यटकले गाउँको सम्भावना र महत्वका बारेमा समेत प्रचार–प्रसार गर्ने भएकाले मापदण्ड अनुसार सञ्चालनका लागि आवश्यक सहयोग गरिरहेको बताउनुभयो । पौडेल भन्नुहुन्छ, ‘‘घरबासले गाउँबाट पलायन रोक्ने र महिलाको सक्रियता बढाउले विश्वास छ ।’’
प्रमुख पौडेलले मराङमा नमुना घरबास सञ्चालन गरी यहाँको ज्ञान, सीपको प्रयोग गरेर उपल्लो मुस्ताङका विभिन्न बस्तीमा स्थानीयस्तरमा पर्यटन प्रवर्धनका लागि विस्तारको योजना बनाएको बताउनुभयो ।
४५ घरधुरी रहेको मराङमा सदरमुकाम जोमसोम–कोरला सडक अन्तर्गत चराङदेखि १५ मिनेट सवारी साधनमा पुगिन्छ । यहाँ तिब्वतभन्दा अगाडि निर्मित गुम्बा, चराङ दरबार लगायत दर्जनभन्दा बढी प्राचीनकालम मानवजातिको बासस्थान मानिएको पहाडमा खोपिएका गुफा रहेका छन् ।