• १२ वैशाख २०८३, शनिबार

थापाथलीमा डोजर चलाउँदा खानेपानीको मुख्य पाइपमा क्षति

blog

काठमाडौँ, वैशाख १२ गते । काठमाडौँको थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर प्रयोग गरी टहरा भत्काउने क्रममा खानेपानीको मुख्य पाइप फुटेको छ। शनिबार बिहान भएको उक्त घटनाका कारण बालाजु, माइतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ।

पाइप मर्मतका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले यी तीन क्षेत्रका भल्भहरू बन्द गर्ने निर्णय गरेको छ। पाइपमा कति क्षति पुगेको छ भन्नेबारे यकिन भइसकेको छैन।

डोजरले पाइपमा क्षति पुऱ्याएपछि बस्तीमा पानीको ठुलो भेल बगेको थियो। यसका कारण सुकुमवासी बस्तीका बासिन्दाले घरबाट निकालेर सडकमा राखेका खाद्यान्न तथा अन्य सामान भिजेर नष्ट भएका छन्। केयुकेएलले प्राविधिक टोली खटाएर मर्मतको काम यथाशीघ्र अघि बढाउने जानकारी दिएको छ।