• १२ वैशाख २०८३, शनिबार

इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान

blog

इस्लामावाद, पाकिस्तान, १२ गते । अमेरिकी राजदूतहरू इरानसँग शान्ति वार्ताको नयाँ चरण सुरु गर्न शनिबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ प्रस्थान गरेका छन् । इरानी सञ्चारमाध्यम इर्ना (आइआरएनए) ले इरानी प्रतिनिधिमण्डलले अमेरिकी दूतसँग प्रत्यक्ष वार्ता गर्ने तत्काल कुनै योजना नरहेको बताएको छ । 

स्टिभ विटकोफ र जारेड कुश्नर इस्लामाबादका लागि प्रस्थान गरेपछि ह्वाइट हाउसले दिएको जानकारीमा इरानी प्रतिनिधिहरुसँग ‘प्रत्यक्ष कुराकानी’ गर्ने बताएको छ । इरानका विदेश मन्त्री अब्बास अराघचीले इस्लामाबाद भ्रमण गर्ने इरानी सञ्चार माध्यमले शुक्रबार पुष्टि गरेका थिए । इरानी स्रोतका अनुसार अराघचीलाई पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरसँग भेट गर्नुभएको छ । तेहरानको दूतावासले पोस्ट गरेको एक छोटो भिडियोमा यो जोडी सँगै देखाइएको छ । 

मध्यपूर्व युद्ध अन्त्य गर्न सम्झौता गर्नु एक जटिल प्रस्ताव हो, यद्यपि विश्वको तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)का लागि एक महत्त्वपूर्ण जलमार्ग हर्मुज घाँटी पुनः खोल्न आवश्यक छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले विटकोफ र कुश्नर ‘इरानी प्रतिनिधिमण्डलका सदस्यहरूसँग’ वार्तामा प्रत्यक्ष संलग्न हुन’ पाकिस्तान प्रस्थान गरेको बताउनुभएको छ । 

लेविटले भन्नुभयो, “राष्ट्रपति डोनाल्ड ट्रम्पले आह्वान गरेको प्रस्तावमा वार्ताका लागि इरानीले सम्पर्क गरे र प्रत्यक्ष कुराकानीका लागि प्रतिनिधिमण्डल पाकिस्तानतर्फ गएको छ । यो वार्ताले बललाई सम्झौताको दिशामा अगाडि बढाउने आशा गरिएको छ ।” दुई हप्ताअघि इस्लामावादमा पहिलो चरणको वार्ताको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्सले तत्कालका लागि वार्तामा सामेल नहुने तर आवश्यक परेमा पाकिस्तान उडान गर्न तयार रहेको बताउनुभएको छ । 

इरानी पक्षले अमेरिकी राजदूतसँग प्रत्यक्ष भेट गर्छ वा गर्दैन भन्ने स्पष्ट छैन । इरानको सरकारी टेलिभिजनले अराघचीको अमेरिकीसँग भेट्ने कुनै योजना नभएको र इस्लामाबादले इरानी प्रस्ताव ‘सम्प्रेषण’ गर्न पुलको रूपमा काम गर्ने बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले विटकोफ र कुश्नरसँगको वार्तालाई प्रत्यक्ष सन्दर्भ नदिई पाकिस्तानी अधिकारीसँग ‘क्षेत्रीय शान्ति र स्थिरताका लागि जारी प्रयास’बारे छलफल गर्न अराघची इस्लामाबाद आएको बताएको छ । रासस/एएफपी