गुल्मी, वैशाख १२ गते । गुल्मीको सदरमुकाम तम्घासमा आयोजित ‘पाँचौँ गुल्मी महोत्सव’ मा गिठीको काठबाट निर्माण गरिएका ठेकी आकर्षणको केन्द्र बनेका छन्। महोत्सवको स्टल नम्बर ६ मा छत्रकोट गाउँपालिका वडा नम्बर १, हुँगाका यमन चुँदाराले ‘छत्रकोट हुँगेली ठेकी उद्योग’ को प्रदर्शनी तथा बिक्री कक्ष राख्नुभएको हो।
विशेष गरी गिठीको काठबाट परम्परागत शैलीमा ठेकी निर्माण गरी बिक्री गर्नुका साथै आधुनिकताको बढ्दो प्रभावसँगै लोप हुन लागेको पुर्ख्यौली सीप र सामग्रीप्रति जनचासो बढाउन स्टल राखिएको सञ्चालक चुँदाराले बताउनुभयो। ग्रामीण भेगमा गिठीको ठेकी विशेष गरी दही जमाउन र मोही पार्न प्रयोग गरिन्छ।
गिठीको काठबाट बनेको ठेकीमा जमाएको दही र पारेको मोही अत्यन्तै स्वादिलो र स्वस्थकर हुने जनविश्वास छ। पछिल्लो समय प्लास्टिक र स्टिलका भाँडाको प्रयोग बढ्दै जाँदा यस्ता रैथाने सीप सङ्कटमा परेका छन्, जसलाई यस्ता महोत्सवले पुनर्जीवन दिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।