• १२ वैशाख २०८३, शनिबार

घरदैलोमै सामाजिक सुरक्षा भत्ता :बैंक धाउनुपर्ने बाध्यता हट्यो

blog

ललितपुर, वैशाख १२ गते । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्तता भएका नागरिकको सहजताका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था लागू गरिएको हो ।

उपाध्यक्ष गोलेले भन्नुभयो, “हाम्रो पालिकाका धेरै वडाहरू टाढा र दुर्गम क्षेत्रमा छन् । ज्येष्ठ नागरिक, एकल महिला तथा अशक्तता भएका नागरिकले पालिका केन्द्र गोटीखेलस्थित बैंकसम्म पुगेर भत्ता लिनुपर्ने बाध्यता अब अन्त्य भएको छ । त्यसैले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य अघि बढाएका छौँ ।”

उहाँका अनुसार महाङ्काल गाउँपालिका–६ ठूलादुर्लाङबाट औपचारिक रूपमा सेवा सुरु गरिएको हो । घरदैलोमै भत्ता पाउँदा ज्येष्ठ नागरिक, अशक्तता भएका व्यक्ति तथा एकल महिलाले खुसी व्यक्त गरेका छन् । पालिकाले आगामी दिनमा यो सेवा सबै वडामा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष गोलेले घुम्ती शिविरमार्फत नागरिकता सिफारिस, सामाजिक सुरक्षा सेवा तथा व्यक्तिगत घटना दर्तालगायत सेवा वडास्तरमै उपलब्ध गराइने जानकारी दिनुभयो ।

‘अब पालिकामा होइन, सेवा तपाईंको घरमै’ भन्ने नारासहित सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिक केन्द्रित बनाउने अभियानलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ । रासस