काठमाडौँ, वैशाख १२ गते । नेपाल एकेडेमी अफ न्युरोलोजी (नान) ले निजी क्षेत्रबाट सञ्चालित एक वर्षे न्युरोलोजी फेलोशिप कार्यक्रमलाई विशेषज्ञको मान्यता नदिन सरोकारवालासँग आग्रह गरेको छ । एकेडेमीले विज्ञप्ति जारी गर्दै यस्तो संक्षिप्त तालिमबाट प्राप्त प्रमाणपत्रका आधारमा 'नसा रोग विशेषज्ञ' वा 'न्युरोलोजिस्ट' को रूपमा काम गर्नु जनस्वास्थ्यका दृष्टिले जोखिमपूर्ण रहेको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, "निजी क्षेत्रबाट सञ्चालनमा रहेको एक वर्षे 'नन–एकेडेमिक' फेलोशिप कार्यक्रमबाट प्राप्त प्रमाणपत्रलाई विशेषज्ञको रूपमा लिन मिल्दैन । तसर्थ, लोक सेवा आयोग, मेडिकल कलेज र स्वास्थ्य संस्थाले यसलाई विशेषज्ञको मान्यता नदिन र बिरामीले आधिकारिक विशेषज्ञबाट मात्र सेवा लिन अनुरोध गरिन्छ ।"
अन्तर्राष्ट्रिय मापदण्ड र नेपाल मेडिकल काउन्सिलको नियमानुसार न्युरोलोजी क्षेत्रमा पूर्ण विशेषज्ञता प्राप्त गर्न एमडी, डीएम वा विद्यावारिधि जस्ता कम्तीमा तीन वर्ष वा सोभन्दा लामो अवधिको उच्चस्तरीय शैक्षिक तालिम अनिवार्य हुन्छ । एक वर्षे फेलोशिप गरेका चिकित्सकले आफूलाई न्युरोलोजिस्ट भनेर सम्बोधन नगर्न र यस्ता कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई तत्काल बन्द गर्न समेत 'नान' ले सुझाव दिएको छ ।
एकेडेमीले जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर र जिम्मेवार रोगहरूको उपचारमा संलग्न हुँदा बिरामीको सुरक्षामा खेलबाड नगर्न सचेत गराएको छ । विशेषज्ञ सेवाको मान्यताका लागि चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको निर्देशिका पालना गर्नुपर्नेमा विज्ञप्तिले जोड दिएको छ ।