विजयकुमार साह
ढल्केबर वैशाख १२ गते ।धनुषाको मिथिला नगरपालिका-६, ढल्केबर चोकस्थित करिब ५३ वर्षदेखि अतिक्रमणमा परेको सार्वजनिक सडक अन्ततः खाली गराइएको छ ।
मिथिला नगरपालिकाले पूर्व सूचना जारी गर्दै शनिबार सो क्षेत्रमा निर्माण गरिएका पक्की भवन, घरटहरा तथा पसलहरू हटाएको हो । नगरपालिकाका अनुसार उक्त सडक क्षेत्रमा करिब २५ देखि ३० जनाले लामो समयदेखि बसोवास तथा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका ती संरचना हटाएसँगै सो सडक पुनः खुला गरिने छ । स्थानीयका अनुसार विसं २०२६ सालमा पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा उक्त सडकको उपयोग गरिएको थियो ।
तर विसं २०३० सालतिर सो स्थानबाट दक्षिणतर्फ नयाँ सडक खुलेपछि पुरानो मार्गबाट आवतजावत बन्द भएको थियो । त्यसपछि केही स्थानीयले क्रमशः सो सडक क्षेत्रमा घरटहरा निर्माण गरी बसोवास र व्यवसाय सञ्चालन गर्न थालेका थिए ।
विगतका वर्षमा स्थानीय तहले पटकपटक अतिक्रमण हटाउने प्रयास गरे पनि सफल हुन सकेको थिएन । नगर प्रमुख महेन्द्र महतोका अनुसार पछिल्लो तीन वर्षको अवधिमा तीन पटक सार्वजनिक सूचना जारी गरिए पनि मुद्दामामिला र विभिन्न अवरोधका कारण कार्यान्वयन हुन सकेको थिएन ।
हाल सङ्घ तथा प्रदेश सरकारबाट सार्वजनिक सडक र जग्गा अतिक्रमण हटाउन कडाइका साथ निर्देशन जारी भएपछि सोही अनुसार नगरपालिकाले कदम अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारको निर्देशन अनुसार साविकको सडक क्षेत्र खाली गराइएको हो ।’ सडकको मापदण्ड कायम गरी आवागमनलाई सहज बनाउने नगर प्रमुख महतोको भनाइ छ ।