• १२ वैशाख २०८३, शनिबार

धनुषामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

blog

साङ्केतिक तस्बिर

ढल्केबर, वैशाख १२ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

चितवनबाट पूर्व गाईघाटतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख. १०११ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प. १२३७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी २१ वर्षीय अतुल चौधरी गम्भीर घाइते भएका थिए । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो ।

मोटरसाइकलको पछाडि सवार महोत्तरीको जलेश्वर नगरपालिका–१ की २३ वर्षीया रागनीकुमारी महतो पनि गम्भीर घाइते भएकी छन् । उनको टाउको र शरीरमा चोट लागेको छ । हाल उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस र त्यसका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ का ३७ वर्षीय युवराज राईलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।