• १२ वैशाख २०८३, शनिबार

कानुन व्यवसायीमाथि हातपात

blog

गजेन्द्र गुरुङ

खजुरा, वैशाख १२ गते । नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् ।

नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता पवनकुमार गुप्ता र बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मेहरसिंह खत्रीद्वारा संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा कानुन व्यवसायीमाथि हातपात तथा अभद्र व्यवहार भएको जनाइएको हो ।

नेपालगन्ज बार एसोसिएसनका सदस्य समेत रहेकी अधिवक्ता दुर्गाकुमारी खड्का शुक्रबार आफ्नो तर्फबाट बहस पैरवी गरी आफ्नो (ल फर्म) कार्यालयमा बसिरहेको अवस्थामा दिउँसो अन्दाजी ४ बजेको समयमा प्रतिवादी रूपक विश्वकर्माको पत्नी शर्मिला विश्वकर्मा र उनको साथमा आएका सर्मिला वाइबा भन्ने शर्मिला राई, ललिता थापालगायत ७, ८ जना महिला अधिवक्ता खड्काको ल फर्ममा जबरजस्ती प्रवेश गरेको विज्ञप्तिमा जनाइएको छ ।

ल फर्ममा जबरजस्ती प्रवेश गरेर उनीहरूले त्यहाँ रहेका पुस्तक, मुद्दाका फाइल लगायतका सरसामान यत्रतत्र फाली ल्यापटप लगायतका सरसामान नोक्सानी पुर्‍याई अभद्र व्यवहार गर्नुका साथै अपशब्द बोलेर दुर्व्यवहार तथा हातपात समेत गरेको भन्दै दुवै बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

“आफ्नो पेसागत दायित्व निर्वाह गर्ने क्रममा कुनै पनि कानुन व्यवसायीमाथिको दुर्व्यवहार र आक्रमणलाई यस बार एसोसिएसनलाई कदापी स्वीकायर हुन सक्दैन । तसर्थः नेपालको कानुन संविधान र कानुनको सीमाभित्र रही पक्षको तर्फबाट बहस पैरवी गरेको कारणले कानुन व्यवसायीको कार्यालय (ल फर्म)मा आक्रमण गर्ने कानुन व्यवसायीलाई हातपात गरी अमर्यादित व्यवहार गर्ने दोषीलाई तत्काल कानुनको दायरामा ल्याई दोषीउपर कारबाही गरिपाउनका साथै निज कानुन व्यवसायी दुर्गाकुमारी खड्कालगायत सम्पूर्ण कानुन व्यवसायीको जिउ ज्यान तथा शान्ति सुरक्षा प्रदान गर्न गराउन नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रशासन र नेपाल बार एसोसिएसन समेतसँग जोडदार माग गर्दछौँ ।” संयुक्त विज्ञप्तिमा भनिएको छ ।